विराटनगर । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले तालाचावी लगाएर हिँडेपछि नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्त भएको एक सातासम्म मुख्यमन्त्री निवासमा सर्न पाएका छैनन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले दिएको जानकारी अनुसार निवर्तमान मुख्यमन्त्री कार्कीले विराटनगरस्थित सुनसरी–मोरङ सिंचाई आयोजना परिसरमा रहेको मुख्यमन्त्री निवासमा चावी लगाएर हिँडेका छन् । काठमाडौंमा रहेको मुख्यमन्त्री निवासको चावी पनि उनै निवर्तमान मुख्यमन्त्री कार्कीले नै लिएर हिँडेका छन् ।
मुख्यमन्त्रीका लागि विराटनगरस्थित कोशी प्रोजेक्टमा निवासको व्यवस्था गरिएको छ । निवर्तमान मुख्यमन्त्रीले निवास खाली नगर्दा मुख्यमन्त्री हिक्मतकुमार कार्की भने पहिलेदेखि बस्दै आएको निजी निवासमै बस्दै आएका छन् ।
वैशाख २७ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले वैशाख ३१ गते प्रदेशसभाका ५७ सांसदबाट विश्वासको मतसमेत पाइसकेका छन् ।
निर्वतमान मुख्यमन्त्री केदार कार्कीले भने सरकार गठनको प्रक्रियाप्रति आपत्ति जनाउँदै अदालत गुहारेका थिए । उनले हिक्मतकुमार कार्कीको नियुक्ति खारेजीको माग राखेर आफूलाई मुख्यमन्त्री पुनःस्थापनाको लागि सर्वोच्चसमक्ष माग राखेका छन् । तर, सर्वोच्चले उनको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै जेठ ९ गतेलाई पेशी तोकेको छ ।
निवर्तमान मुख्यमन्त्री कार्कीको सचिवालयमा रहेकाहरूले प्रयोग गरेका सवारी साधन पनि फिर्ता नगरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार उनका स्वकीय सचिव दिवस राजवंशीले ००४६ नम्बरको स्कुटर फिर्ता गरेका छैनन् भने ६२७ नम्बरको कार र ०३२ नम्बरको स्करपियो पनि फिर्ता भएको छैन ।
पूर्वमूख्यमन्त्रीको हैसियतमा निवर्तमान मुख्यमन्त्री कार्कीलाई प्रदेश सरकारले सवारी साधनको सुविधा दिन पनि मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्छ । उनी दलको नेता नभएकोले त्यो हैसियतमा सुविधा पाउँदैनन् । मुख्यमन्त्री कार्कीले अदालतबाट आफू पुनःस्र्थापित हुने बताउँदै आएकोले निवास न छाडेको उनका सहयोगीहरुले बताएका छन् ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीका प्रेस सल्लाकार देवनारायण साहले भने अदालतमा मुद्दा रहेकाले मुख्यमन्त्रीले निवासको चाबी नछोड्नु भएको जिकिर गरेका छन् । कोशीमा दुई जना मुख्यमन्त्री रहेको र केदार कार्कीले अर्का मुख्यमन्त्रीविरुद्ध रिट दिएकोले निवास खाली नगरेको उनको भनाइ छ । ‘मुख्यमन्त्री केदार कार्की बर्खास्तमा पर्नुभएको छैन,’ उनले भने ‘अदालतमा मुद्दा छ, अनि किन चाबी बुझाउनु ?’