विराटनगर । केन्द्रीय सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले पनि कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ ।
यसअघि सरकारलाई विश्वासको मत नदिने अडानमा रहेका एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राई केन्द्रीय नेताहरूको निर्देशनपछि हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन तयार भएका हुन् ।
नेता राईले अदालतमा मुद्दा विचाराधिन रहेको भन्दै यसअघि कार्की सरकारलाई विश्वासको मत नदिने बताएका थिए । यसअघि उनले सुदुरपश्चिमका मुख्यमन्त्री दिर्घ सोडारीलाई विश्वासको मत दिन एमालेले आनाकानी गरेको भन्दै कार्की सरकारलाई सहयोग गर्न नसक्ने बताउँदै आएका थिए । तर, अहिले सोडारीले समेत कार्की सरकारलाई विश्वासको मत दिन राईलाई अनुरोध गरेको स्रोतले जनाएको छ ।
‘अदालतमा मुद्दा विचाराधिन छ । हतारहतार विश्वासको मत लिनु हुँदैन थियो’ राईले यसअघि भनेका थिए, ‘संविधानको प्रावधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन पाउने अवस्था हुँदाहुँदै र अदालतले जेठ ९ गते मुद्दाको सुनुवाई तोकेको बेला हतार गर्नु ठिक भएन ।’ उनले आफ्नोका सांसदहरु विश्वासको मत दिन सहभागी नहुने जानकारी दिएका थिए ।
नेतृत्वको निर्देशनपछि काठमाडौंमा रहेका नेकपा एकीकृत समाजवादीका सांसदहरू विराटनगर आउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कोशीमा पार्टीका ४ सांसद छन् । नेता राईले आफू बैठकमा रहेकोले विश्वासको मत दिने बैठकमा सहभागी हुन नसक्ने बताउँदै अन्य सांसदले विश्वासको मत दिने बताएका छन् ।
केन्द्रीय सत्ता गठबन्धनमा भएपनि एकीकृत समाजवादी अन्तिम समयसम्म कोशी सरकारमा सहभागी रहेको थियो । प्रदेशसभा बैठकमा यसअघि राईले ३० दिनभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनैपर्ने बताएका थिए । विश्वासको मत नलिएमा अन्तिम समयमा सरकार छाड्ने उनको भनाइ थियो । तर, केदार कार्कीले विश्वासको मत नलिएपछि एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्दा त्यसलाई रोक्न समाजवादी लाग्यो ।
सरकारका अन्य मन्त्रीसँगै एकीकृत समाजवादीबाट सरकारमा सहभागी रहेका भौतिक पूर्वाधारमन्त्री कमलप्रसाद जवेगु नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखले नमिल्ने भन्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । यस्तै मुख्यमन्त्रीले विश्वासको मत नलिएकोबारे प्रदेशसभाले प्रदेश प्रमुखलाई पत्र दिन नमिल्ने भन्दै उनी सभामुख अम्बरबहादुर विष्टलाई पनि दबाब दिन पुगेका थिए ।
यद्यपी उनीहरुको दबाबले न सभामुख रोकिए र न प्रदेश प्रमुख । जसको कारण नयाँ सरकार गठन भइसकेर प्रदेशसभा अधिवेशन आह्वान भइ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री कार्कीले आज प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । ११ बजेका लागि संसद बोलाइएको भएपनि नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेकोले प्रदेशसभाको बैठक केहि समय धकेलिने संभावना छ ।
एमालेका ३९ र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका उनलाई एमाले, माओवादी र जसपाले विश्वासको मत दिने निर्णय गरिसकेका छन् । एकीकृत समाजवादीले पनि मत दिएमा कार्कीको पक्षमा ५७ मत पुग्नेछ ।
कोशी प्रदेशमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपा नेपालका १ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक हुन्छ ।