विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिँदैछन् ।
सोमबार विश्वासको मत लिने भएपछि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर, विश्वासको मत लिने विषयमा कांग्रेसले आजै निर्णय गर्न नसक्ने अडान राखेपछि बैठक सरेको छ ।
कांग्रेसले भोलिको बैठक अवरोध गर्ने जनाउँदै आएको छ । ‘सोमबार बस्ने बैठकमा हाम्रो विमति हुन्छु, नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले भने, ‘बैठक नै अवरुद्ध गर्ने या विरोध गर्ने भन्ने विषयमा भोलि बस्ने संसदीय दलको बैठकले निर्णय गर्छ ।’
कांग्रेसले संसदीय दलको बैठकपछि मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक राख्न माग गरेको थियो । कांग्रेसले सोमबार बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसको प्रस्तावपछि सहमतिमै बिहान साढे १० बजे बैठक बस्नेगरी सारिएको नेकपा एमालेकी सचेतक कमला दर्नालले बताइन् । कार्यव्यवस्था परामर्श समितिको भोलि बस्ने बैठकले कार्यसुचि तयार गर्ने जनाइएको छ ।