विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले विश्वासको मत नदिने बताएको छ ।
एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले अदालतमा मुख्यमन्त्रीकै विरुद्धको मुद्दा विचाराधिन अवस्थामा रहेको बेला विश्वासको मत लिन खोज्नु गलत भएको बताएका छन् ।
‘अदालतमा मुद्दा विचाराधिन छ । हतारहतार विश्वासको मत लिनु हुँदैन थियो’ उनले भने, ‘संविधानको प्रावधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन पाउने अवस्था हुँदाहुँदै र अदालतले जेठ ९ गते मुद्दाको सुनुवाई तोकेको बेला हतार गर्नु ठिक भएन ।’ उनले आफ्नोका सांसदहरु विश्वासको मत दिन सहभागी नहुने जानकारी दिएका छन् ।
पार्टी राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको कारण पनि सोमबार बस्ने संसद बैठकमा उपस्थिति हुन नसक्ने राईको भनाइ छ । सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषयमा आगामी दिनमा प्रष्ट पार्ने उनले बताए ।
केन्द्रीय सत्ता गठबन्धनमा भएपनि एकीकृत समाजवादी अन्तिम समयसम्म कोशी सरकारमा सहभागी रहेको थियो । प्रदेशसभा बैठकमा यसअघि राईले ३० दिनभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनैपर्ने बताएका थिए । विश्वासको मत नलिएमा अन्तिम समयमा सरकार छाड्ने उनको भनाइ थियो । तर, केदार कार्कीले विश्वासको मत नलिएपछि एमाले र माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्दा त्यसलाई रोक्न समाजवादी लाग्यो ।
सरकारका अन्य मन्त्रीसँगै एकीकृत समाजवादीबाट सरकारमा सहभागी रहेका भौतिक पूर्वाधारमन्त्री कमलप्रसाद जवेगु नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखले नमिल्ने भन्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । यस्तै मुख्यमन्त्रीले विश्वासको मत नलिएकोबारे प्रदेशसभाले प्रदेश प्रमुखलाई पत्र दिन नमिल्ने भन्दै उनी सभामुख अम्बरबहादुर विष्टलाई पनि दबाब दिन पुगेका थिए ।
यद्यपी उनीहरुको दबाबले न सभामुख रोकिए र न प्रदेश प्रमुख । जसको कारण नयाँ सरकार गठन भइसकेर प्रदेशसभा अधिवेशन आह्वान भइसकेको छ भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दिइसकेका छन् ।
नेपाली काँग्रेसले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने संभावना नरहेको भन्दै त्यसबारे सोमबार विहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्ने जनाएका छ । दलका प्रमुख सचेतक गोपाल तामाङले विहान दलको बैठक बसेर औपचारिक निर्णय हुने जानकारी दिए ।
अघिल्लो पटक हिक्मतकुमार कार्कीलाई अन्तिम समयसम्म सहयोग गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गरिनसकेको बताएको छ । दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दलले सोमबार बिहान बैठक बसेर निर्णय दिने बताए । ‘तत्काल सरकारमा जाँदैनौं । तर, सरकारलाई समर्थन गरेर बाहिरै बस्ने कि समर्थन नदिने भन्ने विषयमा भोली निर्णय गर्छौं,’ उनले भने ।
जसपा नेपालकी सांसद निर्मला लिम्बूले भने आफूले सरकारलाई विश्वासको मत दिने बताएकी छन् । ‘हाम्रो दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन्छ,’ उनले भनिन्, ‘हामीले समर्थन गरिसकेका छौं ।’
एमालेका उपसभामुखसहित ४० र माओवादीका १३ जना सांसदको समर्थनमा कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका मुख्मयन्त्री कार्कीको नियुक्ति प्रक्रियाका विरुद्धमा काँग्रेस सांसद तथा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । रिटको अन्तरिम आदेश नदिएको अदालतले पूर्ण सुनुवाइको लागि जेठ ९ गते पेशी तोकेको छ ।
कोशी प्रदेशमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपा नेपालका १ सांसद छन् ।