सरकारको दावीमा सबै सांसदको सनाखत पनि गराउने तयारी

विराटनगर । संविधान अनुसार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नलिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गर्ने तयारी गरिरहेका छन् ।

सरकार अल्पमतमा रहेको र संविधान अनुसार विश्वासको मत नलिएकोले प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गर्ने तयारी गरेको एमाले र माओवादीले बताएका छन् । सरकारमा सहभागी दल र सांसदले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको पत्र, प्रदेशसभाका ९३ सदस्यमध्ये बहुमत सांसद (५२) सांसदले नयाँ सरकार गठन गर्न गरेको आग्रह, संविधानको व्यवस्था तथा सर्वोच्च अदालतको आदेश र महान्यायधीवक्ता कार्यालयको रायसमेतका आधारमा नयाँ सरकार गठनको आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख छन् ।

प्रदेश प्रमुखले महान्यायधीवक्ताको राय मागेर पत्र पठाएकोमा त्यसको जवाफ आइसकेको छैन । महान्यायधीवक्ताको राय आइसकेपछि प्रदेश प्रमुखले आवश्यक निर्णय गर्ने निकट स्रोतले जनाएको छ ।

दुई दलले संविधानको धारा १६८ अनुसार सरकार गठन हुनुपर्ने माग गरेका छन् । तर, उपधारा २ कि ५ अनुसार भन्ने उनीहरुले स्पष्ट पारका छैनन् । ‘कुन उपधारा अनुसार सरकार गठनको आह्वान गर्ने भन्ने प्रदेश प्रमुखको अधिकारको विषय हो’ नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘जुनसुकै धाराबाट आह्वान भएपनि दावी पेश गर्न तयारी अवस्थामा छौं ।’

सरकारमा दावी पेश गर्नको लागि आफ्ना सांसदहरूलाई विराटनगरमै रहन एमाले र माओवादीले निर्देशन दिएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउने सहमति अनुसार दुबै दलका सांसदहरुले दावी पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नै सरकार गठनको आह्वान गर्ने संभावना रहेकोले त्यसअनुसार दावी पेश गर्दा सबै सांसदलाई शशरिर उपस्थित गराएर सनाखतसमेत गराउने तयारीमा दुई दल रहेका छन् । यसअघि केदार कार्की मुख्यमन्त्री नियुक्त हुनुअघि दोहोरो दावी परेको भन्दै प्रदेश प्रमुखले सांसदहरुलाई सनाखत गराएका थिए ।

अहिले पनि सनाखतसहित सरकारको दावी पेश गर्ने तयारीमा दुई दल रहेको एक नेताले जानकारी दिए । त्यसको लागि दुबै दलले आफ्ना सांसदहरूलाई विराटनगर बाहिर भए विराटनरम आउन र बाहिर नजान निर्देशन दिएका हुन् । एमाले प्रमुख सचेतक सांसदहरूलाई विराटनगर नछाड्न र अन्यत्र भए विराटनगर आउन निर्देशन दिइएको बताए ।

कोशीमा एमालेका ४० र माओवादीका १३ जना सांसद छन् । मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वास मत नलिएर राजीनामा पनि दिन अस्वीकार गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्न लागेको हो ।

चैत २६ मा एमाले र माओवादी सांसदहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यही दिन विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसामु समावेदन गरेका उनीहरूले वैशाख ७ मा प्रदेश सभाबाट मुख्यमन्त्रीविरूद्ध संकल्प प्रस्ताव पारित गरेका थिए।

गएको असोज २७ मा कांग्रेसबाट विद्रोह गरेर संविधानको धारा १६८ को उपधारा ५ अनुसार केदार कार्की मुख्यमन्त्री बनेका थिए। त्यसबेला उनलाई एमालेले समर्थन गरेको थियो। विश्वासको मत लिने बेलामा उनलाई माओवादी, एकीकृत समाजवादी , जसपाका सांसदहरूले पनि समर्थन गरेका थिए।

बुधबार, २६ बैशाख, २०८१, साँझको ०५:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर