कोशीमा आजै नयाँ सरकार गठनको आव्हान हुने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धाराा १८८ को २ अनुसार सरकारमा सहभागी दल र सांसदले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएको कारण नयाँ सरकार गठनको प्रक्रिया उनले राजीनामा नदिए पनि अगाडि बढ्ने भएको छ ।

प्रदेशसभाले पारित गरेको संकल्प प्रस्ताव अनुसार तोकिएको अबधिभित्र मुख्यमन्त्री कार्कीले प्रदेशसभामा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव अगाडि बढाउन सूचना नदिएको पत्र प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखलाई पठाएको छ । सोही पत्र र महान्यायाधीवक्ता कार्यालयको रायसमेतका आधारमा नयाँ सरकार गठनको आह्वान हुने भएको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी दल र सांसदले २०८० चैत २६ गते सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिइसकेको अवस्थामा २०८१ वैशाख २५ गतेभित्र मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेमा नलिएकोले स्वतः पदमुक्त भएको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । पत्रमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको हस्ताक्षर छ ।

प्रदेश प्रमुखको कार्यालयले पछिल्लो परिस्थितिबारे कानुनी र संवैधानिक परामर्श भइरहेको जनाएको छ । दुई दलको पत्र, मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै प्रदेशसभा सचिवालयले दिएको जानकारी र त्यसबारे महान्यायाधीवक्ता कार्यालयले दिएको रायसमेतको आधारमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने स्रोतले जनाएको छ । सरकार रिक्तताको अवस्था रहन नसक्ने भएकोले मुख्यमन्त्रीले विश्वासको मत नलिएर पदमुक्त भएको दिन नै नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने देखिएको प्रदेश प्रमुख निकट स्रोतले जनाएको छ ।

प्रदेश प्रमुखले महान्यायधीवक्ताको राय मागेर पत्र पठाएकोमा त्यसको जवाफ आइसकेको छैन । महान्यायधीवक्ताको राय आइसकेपछि प्रदेश प्रमुखले आवश्यक निर्णय गर्ने निकट स्रोतले जनाएको छ ।

स्रोतको अनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गर्नेछन् । नयाँ सरकार गठनको आव्हानलगत्तै एमाले र माओवादीका सांसदहरुले नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित दावी पेश गर्ने तयारी गरेका छन् ।

प्रदेशसभाको बहुमत सांसदको हस्तक्षरसहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । त्यसको लागि आवश्यक परेमा सांसदहरुलाई सनाखत गराउन पनि तयारी अवस्थामा राखिएको दुई दलका नेताहरुले बताएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि एमाले–माओवादी नयाँ सरकार गठनमा लागेका हुन्। यता, नयाँ सरकार गठनको विषयमा अहिले नै टुंगो नभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

फायल फोटो

बुधबार, २६ बैशाख, २०८१, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर