इलाम २ को उपनिर्वाचनको लागि २० जनाको उम्मेदवारी दर्ता

विराटनगर । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ कोे उपनिर्वाचनका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, नेकपा, एकीकृत समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीसहित केहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

१२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको हो । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष छन् ।

नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का साझा उम्मेदवारको रुपमा सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुगेका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण छन् । । सुहाङले मनोनयन दर्ता गर्न जानुअघि भानुरत्न चोक इलाममा रहेको सहिद रत्नकुमार वान्तवा, सहिद बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए ।

उपनिर्वाचनका लागि नेपाली काँग्रेसबाट डम्बरबहादुर खड्काले अपरान्ह मनोनयन दर्ता गराएका छन् । खड्डका २०७९ सालको निर्वाचनमा सुहाङका बुबा सुवासचन्द्र नेम्बाङसँग झिनो मतान्तरले पराजित भएका थिए । सुवासको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वपत्रकार मिलन लिम्बूले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले मनोनयन दर्ता गराएका थिए । एकीकृत समाजवादीका जीतबहादुर राई र पहिचानवादीहरुले साझा उम्मेदवारका रुपमा डकेन्द्र सिंह थेगिमले स्वतनत्र उम्मेदवारी दर्ता गराएका छन् ।

राप्रपा नेपालबाट गणेशबहादुर चौहान, नेशनल रिपवल्क पार्टीबाट धनराज राना मगर, नेपाली जनता दलबाट रेशमबहादुर सुनार, राप्रपाबाट लक्ष्मी गुरुङ, नेपाल मदजुर किसान पार्टीबाट श्यामबहादुर दर्जी र जनमत पार्टीबाट प्रेमकुमार थमसुहाङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै अर्जुनबहादुर शाही, डाकप्रसाद गौतम, केशबबहादुर थापा, दिनेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बश्यालले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको लागि शनिबार मनोनयन दर्ता भएको हो । बिहान ११ बजेदेखि पौने ६ बजेसम्ममा २० जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनमै रहेका तीन दलसहित अन्य दल र स्वतन्त्र गरी २० जनाले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एस भने सत्ताघटक दल हुन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएपछि मिति २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, मिति २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने र २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ ।

शनिबार, २४ चैत, २०८०, साँझको ०६:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर