कार्यालय सहयोगीको भरमा कौवाखोज छोटी भन्सार

आँखै अगाडि तस्करी, सशस्त्रले नसघाउँदा सुतेरै बित्छ दिन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्थिति कप्तानगंजमा रहेको कौवाखोज छोटी भन्सार कार्यालय कार्यालय सहयोगीको भरमा छोडिएको छ । पर्याप्त जनशक्ति अभावमा भन्सार कार्यालय चलाउनु पर्दा त्यहाँबाट हुने अवैध गतिविधि नियन्त्रण गर्नसक्ने अवस्था छोटी भन्सार कार्यालयसँग छैन । छोटी भन्सारको जिम्मेवारी कार्यालय सहयोगीले सम्हाल्ने र उनीमाथि सम्पूर्ण कार्यालय सञ्चालनको जिम्मेवारी भएकोले सीमा क्षेत्रमा चोरी तस्करी गर्नेहरुले प्रशासनिक कमजोरीको फाइदा उठाउने गरेका छन् ।

त्यस नाका आसपासबाट खुलेआम सामानहरुको चोरी तस्करी हुने गरेको छ तर त्यसलाई रोक्ने सामथ्र्य छोटी भन्सार कार्यालयसँग छैन ।

भारतबाट दैनिक लताकपडा तरकारी, खाद्यान्य आदि उपभोग्य सामग्री आयात हुने गरेको कौवाखोज नाकामा कार्यरत कार्यालय सहयोग दुर्गा पोखरेलले गएको पुस महिनादेखि छोटी भन्सार कार्यालयमा कामकाज गर्दे आएका छन् । त्यस नाकाबाट बिहानको समयमा तरकारीजन्य वस्तु आयात हुने गरेको छ । त्यसबाहेक औपचारिक मार्ग भएर केही सामग्री आउँदैन । बिहान आउने तरकारीको पोखरेलले भन्सार शुल्क लिन्छन् र बाँकी समय कार्यालयसँगै रहेको आवासमा सुतेरै दिन बिताउँछन् ।

छोटी भन्सार भएकोले त्यहाँबाट आयात निर्यातको काम नहुने भने होइन । औपचारिक मार्ग खाली भए पनि छेउछाउका बाटोबाट दिनभरीजसो सामान ओसारपसार हुने गरेको उनी देख्छन् तर त्यसलाई रोक्ने ल्याकत उनीसँग छैन । भन्छन् ‘म बिहानैबाट भन्सारमा बस्छु, तरकारीहरु आउँछ शुल्क लिन्छु, बाँकी समय फुर्सद नै हुन्छ, त्यसबेला पनि कार्यालयमै हुन्छु, आराम गर्छु तर खास काम हुँदैन । छोटी भन्सारको मार्ग भएर मालसामान नआए पनि छेउछाउबाट सामान ओसारपसार भएको देख्छु तर रोक्न सकिएको छैन ।’

चोरी तस्करी नियन्त्रणका लागि त्यहाँ डिएसपीको कमाण्डमा सशस्त्र प्रहरीको वेश क्याम्प स्थापना गरिएको छ । तर त्यसले अवैध ओसारपसार नियन्त्रण गर्न ध्यान दिएको छैन । तस्करी भइरहेको देखेर पनि सशस्त्रले रोक्ने र सामान नियन्त्रण गरी भन्सारमा बुझाउन मिहेनत नगरेपछि भन्सार कर्मचारी पोखरेल पनि कार्यालय नजिकैको कोठामा सुतेरै दिन बिताउँछन् ।

कौवाखोज नाकामा नेपालतर्फ कप्तानगंज र भारततर्फ फुलकाहा बजार रहेको छ । फुलकाहा हुँदै भारतको विभिन्न स्थानबाट खुल्लमखुल्ला अवैधरुपमा सरसमान आउने गरेको छ  । त्यसमा पनि सीमा क्षेत्रमा गरिएको मकैखेतीले तस्करीलाई सहज बनाइदिएको छ । मकैघारीबाट सामान पास गर्न सहज देखिन्छ ।

फुलकाहा जाने औपचारिक नाका सुनसान देखिए पनि वरपरबाट साइकल र मोटरसाइकलमा समान ओसारपोसार हुने गरेको छ । छोटी भन्सारका कर्मचारी पोखरेलले भने ‘भन्सार अगाडि डियुटीमा खटिएका प्रहरीलाई भारतबाट अवैधरुपमा भइरहेको चोरी तस्करी रोक्न आग्रह गरेको छु तर कुनै सुनुवाइ हुँदैन, तस्करीको नाकाबाट आवतजावत बाक्लिँदा औपचारिक नाकामा राखिएको कार्यालय दिनभर कामविहीन भएर बस्नु पर्ने अवस्था छ ।’

खुलेआम तस्करी भए पनि नदेखेजस्तो गरेर बस्नु पर्ने अवस्था रहेको उनले बताए । पोखरेलले भने ‘मैले देखेर मात्रै भन्सार काट्न सक्दिन्  ।’ सो नाकामा खरदार सहितको पाँच जनाको दरबन्दी थियो । तर, सशस्त्र द्वन्द्वको बेलामा दरबन्दी कटौती हुँदा सो भन्सारलाई कोशी ब्यारेजस्थित सेतु वन भन्सार कार्यालयले सञ्चालन गर्दे आएको छ । कार्यालयले आवश्यकता अनुसार कर्मचारी खटाउने गरेकोले पछिल्लो दिनमा आफूले कार्यालय सम्हालीरहेको बताए । ‘सेतुवनले आवश्यकता अनुसार कर्मचारी खटाउने गरेको छ ।‘  छोटी भन्सार कार्यालयमा कर्मचारी अभावका कारण यसको प्रत्यक्ष असर राजश्व संकलनमासमेत परेको छ । आवश्यकता अनुसारको जनशक्ति नहुँदा लक्ष्य अनुसार राजश्व संकलन पनि भएको छैन ।

पोखरेलका अनुसार साधारण कामका लागि पनि स्थानीयले भारतको फुलकाहमै बजार गर्न जाने प्रवृत्ती छ ।

छोटी भन्सार कार्यालयले संकलन गरेको महशुल महिनामा दुई पटक कोशी ब्यारेजस्थित सेतुवन भन्सार कार्यालयमा बुझाउने गरेको पोखरेलले बताए । उनका अनुुसार सो नाका बाट विशेष गरी हरियो तरकारी आयातबाट दैनिक सरदर पाँचहजार रुपैयाँसम्म राजश्व संकलन हुने गरेको छ । त्यसबाहेक अन्य सामान भने औपचारिक मार्गभएर बिरलै मात्र आउने गरेको उनले बताए । उनले तस्करी नियन्त्रण गर्ने जिम्मेवारी लिएको सशस्त्र प्रहरीले विशेष निगरानी र नियनत्रणमा चासो गरेको खण्डमा औपचारिक भन्सारबाट सामान ल्याउने प्रवृत्ति विकास हुनसक्ने बताए । उनले कतिपय अवस्थामा सूचना दिँदा पनि सहयोग नपाएको गुनासोसमेत गरे ।

बुधबार, २१ चैत, २०८०, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर