इटहरी । चर्को र विवादित कुरा गरेर चर्चामा आउने सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले लकडाउनको कारण कुनै पनि नागरिक भोकले मरेमा प्रधानमन्त्रीलाई हत्कडी लगाउनुपर्ने बताउनुभएको छ ।
लकडाउन लम्बिएको बेला प्रदेश र संघीय सरकारले खासै सहयोग नगरेको बताउँदै प्रमुख चौधरीले लकडाउन गरेर खाना पाउने व्यवस्था नमिलाउने प्रधानमन्त्रीलाई हत्कडी लगाउनुपर्ने बताउनुभएको हो । संविधानले नै खाद्य अधिकार सुनिश्चित गरेको भन्दै उहाँले सरकारले गरेको लकडाउनमा कसैले खान नपाएर ज्यान गुमाएमा प्रधानमन्त्री र आपूर्तीमन्त्रीलाई हत्कडी लगाउनुपर्ने बताउनुभयो ।
‘नगरबासी कसैको निधन भएमा पोष्टमार्टम गर्छौ हामी’ उहाँले भन्नुभयो, ‘खान नपाएर मरेको रहेछ भने हत्कडी प्रधानमन्त्रीलाई लगाउनुपर्छ ।’ स्थानीय तहलाई अहिले भएको बजेटबाट राहत वितरण गर्न सरकारले भनेकोप्रति आपत्ती जनाउँदै प्रमुख चौधरीले स्थानीय तहमा राहतको लागि बजेट नभएको र प्रदेश सरकारले पनि जम्मा १५ लाख मात्र दिएको बताउनुभयो ।
इटहरी उपमहानगरपालिकामा उद्योग वाणिज्य संघसहित सरोकारवालाहरुको बैठकमा उहाँले इटहरीमा आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध नगराएको र परीक्षण पनि नभएको गुनासो गर्नुभयो । क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर्नुपर्नेमा टेष्टका लागि चाहिने किट प्रदेश सरकारले नपठाएको उहाँको भनाइ छ । अझ पिसिआर परीक्षण त कसैको पनि नभएको उहाँको भनाइ छ ।
यो पञ्चाययत र बहुदल नभई संघीय गणतन्त्रको जनता भएकोले लकडाउन गरेपछि सरकारले जनतालाई खान दिनुपर्ने चौधरीको भनाइ छ । सुनसरीमा चामल र दालको समस्या नभएको भएपनि विपतको बेला सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
केही समय अगाडि इटहरीबासीलाई ६ महिनासम्म खाद्यान्न अभाब हुन नदिने बताउनुभएका चौधरीले सरोकारवालाहरुको बैठकमा संघीय र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गर्नुभयो । प्रदेश १ का संसाद लिलम बस्नेत, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेल, महासचिव पिताम्बर पोख्रेल, केही वडाका वडाअध्यक्षलगायतको सहभागिता मा नगर क्षेत्रको बजार सञ्चालनबारे भएको छलफलमा नगरप्रमुख चौधरी आक्रोशित रुपमा प्रस्तुत हुनुभएको थियो ।
https://www.facebook.com/hamromatpati/videos/1160994210899563/