विराटनगर । घरेलु टोली नेपालले दोस्रो टी–२० खेलमा आयरल्यान्ड ‘ए’लाई ७१ रनले हराएको छ । मंगलबारको जीतसँगै नेपालले आयरल्यान्ड ‘ए’सँग दुबै खेलको टी– २० सिरिज जितेको छ ।
जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अलआउट भएको थियो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए भने रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड १८ र ग्यारेथ डेलानी १५ रनमा आउट भए ।
नेपालका सोमपाल कामी र कुशल मल्लले ३–३ विकेट लिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १–१ विकेट लिए । त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।
नेपालको जितमा गुलशन झाले ३२ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए । कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रनको आक्रामक इनिङ खेले भने ओपनर आसिफ शेख ११ रनमै आउट भए । कुशल भुर्तेल १६ बलमा समान २ चौका र छक्कासहित २५ र अनिल शाह १२ रनमा क्याच आउट भए । सन्दीप जोराले १० बलमा १० बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए भने कप्तान रोहित पौडेलले २४ बला ५ चौकासहित ३३ रनमा आउट हुँदा विवेक यादव ७ नट आउट रहे ।
आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले १–१ विकेट लिए ।
नेपाल पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । यसपछि नेपालको सिनियर टोली भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न जानेछ । नेपालले बरोडा र गुजरातसँग सिरिज खेल्नेछ । आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग समान तीन टी–२० र एकदिवसीय अभ्यास खेलको सिरिज पनि खेल्नेछ ।