कोरोनाको कहरबीच उर्लाबारीमा दादुराको महामारी

विराटनगर । कोरोना भाइरसको जोखिम विरुद्ध मुलुक जुधिरहेको बेला मोरङको उर्लाबारीमा दादुरा फैलिएको छ ।

उर्लाबारी– ३ मंगलबारेमा आठ जनामा दादुरा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

कुनैपनि ठाउँमा एक महिनामा ५ वटा रोगका बिरामी फेला परेपछि महामारी भएको मापदण्ड रहेको छ । ८ जनामा दादुरा देखिएपछि सो क्षेत्रमा महामारी फैलिएको देखिएको छे । दादुरा सरुवा रोग भएको र समयमा उपचार नगरिए बिरामीको ज्यान जाने चिकित्सकहरु बताउँछन् ।

वैशाख १ गते एक जनामा दादुरा संक्रमणको आशंका भएपछि परीक्षण गर्दा दादुरा पोजेटिभ देखिएको थियो । त्यसपछि वैशाख १६ गते अर्को परीक्षण गर्दा थप एक जनामा संक्रमण देखिएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनको टोलीसहित प्रदेश सरकारको टोलीले स्याम्पल परीक्षण गर्दा थप ६ जनामा दादुरा देखिएको हो ।

रगत परीक्षणमा दादुरा पुष्टि भएको उर्लाबारी नगरपालिकाले जनाएको छ । नगरपालिकाका मेयर खड्ग फागोले दादूराको नियन्त्रणका लागि नगरपालिकाको स्वास्थ्य शाखालाई आवश्यक निर्देशन दिईसकेको बताउनुभयो । ७ वर्षदेखि २५ वर्ष उमेरका व्यक्तिहरुलाई दादुरा देखिएको हो ।

आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरुकै घरमा प्रत्यक्ष निगरानीमा राखिएको मंगलबारे अस्पतालले जनाएको छ । दादुरा देखिएपछि उर्लाबारी नगरपालिकाले ज्वरो, आउने रुघाखोकी लाग्ने र शरीरिमा विमिरा निस्कने जस्ता लक्षण तथा चिन्हहरु देखा परे तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

दादुराका लक्षण देखिएका बिरामीहरुलाई स्वास्थ्य संस्थामा सम्पर्क गर्न मंगबलारे अस्पतालका प्रमुख डा. योगेश मण्डलले आग्रह गर्नुभएको छ । दादुरा उन्मुलनका लागि सरकारले मोरङमा हालै नवौं पटक खोप अभियान सञ्चालन गरेको थियो ।

दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ  । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ ।

आइतबार, २१ बैशाख, २०७७, साँझको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर