विराटनगर । कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लवबले कोशी प्रदेशटि–२० क्रिकेट प्रतियोगितको उपाधि जितेको छ । मोरङ क्रिकेट संघको आयोजनामा चैत २२ गतेदेखि विराटनगरस्थित वैजनाथपुर क्रिकेट रंगशालामा जारी प्रतियोगितामा शनिबार आर्मीले कर्णालीलाई पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितेसँगै आर्मीले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता कर्णालीले ३ लाख र ट्रफी प्राप्त गरेका छन् । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मीसामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । आर्मीले १२ दशमलव २ बल मै एक विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गर्न सफल भयो ।
आर्मीका त्रितराज दासले ३३ बलमा २ छक्का र ५ चौकासहित अर्ध शतक बनाए भने इमरान शेखले दुई छक्कासहित ३८ रनको योगदान दिए । आर्मीका सन्तोष कार्की दिनेश अधिकारीको बलमा क्याच आउट भएका थिए । कर्णाली प्रदेश टिमका विपिन रावलले सर्वाधिक २७ रन जोडे । कप्तान रविन्द्र शाही र मनिष थापाले २१–२१ रनको योगदान गरे भने दिनेश अधिकारीले १२ रन बनाए । यस्तै, दिपेन्द्र रावत ६, अर्जुन घर्ती ४, हिमांशु शाही २, युनिश ठकुरी र अनुज चनारा १–१ रनमात्रै बनाए । दिवान पुनले नटआउट ५ रन खेलेका थिए । आर्मीका त्रितराज दास, शहाब आलम, सुमित श्रेष्ठ र बसिर अहमदले समान २–२ विकेट लिएका थिए । पवन कार्कीले १ विकेट लिए । प्रतियोगितामा तीन विभागीय र ७ प्रदेशका टिम गरी १० वटा टिमले सहभागिता जनाएका थिए ।