लोहोन्द्रा खेलामा ठेकेदारको मनपरी, मापदण्डविपरित अबैध उत्खनन्

विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ लोहन्द्रा खोलामा दुई वटा सिंगो बस्तीलाई असर पुग्ने गरी अवैध उत्खनन गरेको पाइएको छ । ठेकेदार कम्पनीले मापदण्ड विपरित कटहरीको चतारीघाट र सतार बस्तीका सयौं घरपरिवारलाई असर पुग्नेगरी लोहन्द्रा खोलामा उत्खनन गरेको अनुगमनको क्रममा पाइएको हो ।
विराटनगर–६ स्थित श्री आर. सी. सप्लायर्स एण्ड कन्ट्रक्सन प्रालिले मापदण्ड विपरित उपकरणहरु प्रयोग गरी उत्खनन गरेको पाइएपछि सवारी साधन नियन्त्रण गरेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए । कटहरीका प्राविधिकसहित स्थलगत निरीक्षणको क्रममा ठेकेदार कम्पनीले १० देखि १५ फिट गहिरो उत्खनन गरेको पाइएको उनको भनाइ छ ।

‘आइईइ प्रतिवेदन र सहमति विपरित ठेकेदार कम्पनीले उत्खनन गरेको पाइएको छ’ उनले भने, ‘१० देखि १५ फिट गहिरो खाडल बनाएर उत्खनन गरेको अनुगमनको क्रममा भेटिएको छ । यस्तै उपकरणहरू उत्खननमा प्रयोग गर्न नपाइने लिखित सम्झौता भएपनि तीन मिनेटमा ट्याक्टर र टिपरमा लोड गरिने उपकरणहरू भेटिएको छ ।’ अवैध उत्खननमा प्रयोग भएको उपकरण र ट्याक्टर नियन्त्रणमा लिएको गाउँपालिकाले जनाएको छ ।

अवैध उत्खनन् बस्ती जोखिममा परेको भन्दै स्थानीयले उजुरी दिएपछि गाउँपालिका अनुगमनमा गएको थियो । कटहरी गाउँपालिका ६ की रेनुका हास्दाले दैनिक जेसीबी प्रयोग गरि ट्याक्टर र टिपरमा अवैध रुपमा माटो (भरोट) उत्खनन गरी बिक्री हुने गरेको बताइन् । ‘घरछेउमा मेसिन लगाएर ठुला खाडल हुनेगरि खनिदिने गरेका छन्’ उनले भनिन्, ‘यसरी खाडल हुनेगरी उत्खनन गर्दा बाढी बस्तीमा पस्ने गरेको छ ।’

स्थानीले गहिरो नखनिदिनु भन्दा ठेकेदारले नटेरेको गुनासो गरेका छन् । जथाभावी उत्खनन्ले त्यस क्षेत्रमा ठूल्ठूला खाल्डाखुल्डी परेका छन् भने बस्ती नै टापु जस्तो हुन थालेको छ । टिपरको धूलो र आवाजले बस्तीमा बस्न समस्या भएको स्थानीयले सुनाए । उत्खनन रोक्न खोज्दा अवैध उत्खनन गर्ने समूहले उल्टै बस्तीमा आएर धम्क्याउने गरेको स्थानीयको आरोप छ । वर्षामा खाल्डा खुल्डीमा पानी भरिने भएकोले बालबच्चा डुबेर मर्छन् भन्ने पिरले सताएको स्थानीयको भनाई छ ।

धनपालथान र कटहरी गाउँपालिकामा पर्ने लोहन्द्रा खोला बलुवा र भरौट झिक्ने ठेक्का २०८० मंसिर ८ गते ठेक्का लागेको हो । श्री आर सी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले १ करोड ३२ लाख १६ हजार ५९२ रुपैयाँमा ठेक्का लागेको छ । ठेक्का सम्झौता अवधि २०८१ जेठ मसान्तसम्म रहेको छ । सम्झौता पत्रमा सप्लायर्सको तर्फबाट प्रतिनिधि रामकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

श्रेष्ठले हस्ताक्षर गरेपनि खोला ठेक्का भने कटहरीका स्थानीय काँग्रेस नेता सञ्जय मण्डलले लिएका हुन् । ठेकेदार मण्डलले कटर प्रयोग गरिएको स्वीकार गरेपनि ठुलो मेसिन भने प्रयोग नगरेको दाबी गरेका छन् । ‘कटर मेसिनले सम्याउने मात्र काम गर्दछ । खोला ढिलो गरी ठेक्का लागेकेको कारणले पनि समस्या भएको हो’ उनले भने, ‘हामीमाथि झुटो आरोप लगाएको कटहरी गाउँपालिका अध्यक्षले फसाउन खोजेका छन् ।’

करोडौं रुपैयाँ राजस्व बुझाउने कम्पनीलाई काम गर्न नदिने र स्थानीय सरकारले यसरी दुःख दिए ठेक्का रद्द गरेर अदालत जाने चेतावनी ठेकेदार मण्डलको छ ।कटहरी गाउँपालिकाले भने अवैध उत्खननमा उपकरण प्रयोग गर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने भएको छ । अवैध उत्खनन गरिएको खोलामा स्थलगत निरीक्षण गरेर आएपछि कार्यपालिका बैठकले ठेकेदार कम्पनीलाई कारवाही गर्ने अध्यक्ष चौधरीले बताए । ‘हामीले प्राविधिकसहितको टोलीले निरीक्षण गरेपछि निर्णय पनि गरिएको छ’ उनले भने, ‘गाउँपालिकाको कार्यपालिका बैठकबाट कारवाही गर्नेछौं ।’

अनुगमन गर्दा अवैध उत्खननमा प्रयोग गरिएको साधन नियन्त्रण भएमा १ देखि २ लाख रुपैयाँसम्म जरिवाना गर्ने अधिकार हुन्छ । मापदण्ड बिपरित खोला किनारको जमिनमा उत्खनन् गरिएको स्थानीयले गुनासो गरेपछि अनुगमनमा गाउँपालिका अध्यक्ष चौधरीसहित, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीता देवी राजवंशी, मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरीका एसपी विश्वबन्धु खड्का, राष्ट्रिय अनुसन्धानका निर्देशक तिलक शर्मा प्रसाई, मोरङका सहयाक प्रमुख जिल्ला अधिकारी प्रदिप साहलगायतका टोली पुगेको थियो ।
टोलीले उत्खननमा प्रयोग भएको उपकरण र ट्याक्टर नियन्त्रण गरेर कटहरी गाउँपालिकामा राखेको छ ।

बिहिबार, २४ फागुन, २०८०, बिहानको ०९:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर