विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साविक उप विजेता सरस्वती स्कुलले जितेको छ ।
विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आदर्श बालिका स्कुललाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १४३ रनको विशाल योगफल बनाएको थियो । सरस्वतीकी प्लेयर अफ द फाइनल प्रेरणा पासवानले ७२ रनको योगदान दिँदा कृतिसा धामीले १७ रनको योगदान दिइन् । आदर्श बालिकाकी कञ्चन राय, सिमा राय र सिम्रिका राजवंशीले समान १–१ विकेट लिए ।
१४४ रनको लक्ष्य पछ्याएको आदर्श बालिकाले १५ दशमलव २ बलमा सबै विकेट गुमाई ६९ रनमा सीमित भयो । बालिकाका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । सरस्वतीकी कृतिसा धामीले ४ विकेट लिँदा पूर्णीमा राजवंशी र अञ्जली मण्डलले १–१ विकेट लिए ।
प्रतियोगितामा प्लेयर अफ द सिरिज सरस्वतीकी कृतिसा धामी घोषित हुँदा उत्कृष्ट ब्याटर आदर्श बालिकाकी सकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव घोषित भए । विजयी तथा अन्य देलाडीलाई प्रमुख अतिथि विराटनगर महानगर पालिकाकी उप–मेयर शिल्पा निरला कार्की, नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठ, क्रिकेट विथआउट वाउण्ड्रीका सार वेग, एड ल्याम्प टिम निकल्स, सन विलियम्स र रचना राम चन्दले पुरस्कार तथा ट्रफि वितरण गरे ।
प्रतियोगितामा विराटनगरका सामुदायिक स्कूलहरुका महिला खेलाडीहरुले भाग लिएका थिए ।