विराटनगर । साल्ट ट्रेडिङ कम्पनी कोशी प्रदेश कार्यालय विराटनगरको विरुद्धमा अख्तियार र केन्द्रीय कार्यालयमा परेको उजुरी छानविनमा आलटाल भएको पाइएको छ ।
उक्त कार्यालयमा वर्षौंदेखि हुँदै आएको भ्रष्टचारको घटना केन्द्रीय कार्यालयमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा ६ महिना अगाडि नै उजुरी परेको थियो । तर, उजुरीको विषयमा दुवै कार्यालय मौन देखिएका छन् ।
प्रदेश कार्यालय विराटनगरका प्रमुख व्यवस्थापक राधेश्याम चौधरीको नेतृत्वमा केही उपल्ला कर्मचारीहरु मिलेर त्यहाँ व्यापक भ्रष्टाचार हुने गरेको स्रोतको दाबी छ । ‘भ्रष्ट्राचारलाई कार्यालयभित्रकै कर्मचारीहरुले स–प्रमाण उजुरी गरेपनि केन्द्रीय कार्यालयले कुनै कारवाही नगरी घटनालाई गुपचुप बनायो,’ उक्त स्रोतले भन्यो ।
कर्मचारी स्रोतले दिएको जानकारी अनुसार प्रमुख व्यावस्थापक चौधरी विराटनगर प्रदेश कार्यालयमा गत करिब आठ वर्षदेखि बहाल छन् । विरगञ्जमा हुँदा २०६१ –०६२ तिर अनुदानको मट्टितेल घोटाला प्रकरणमा रातारात काठमाडौ तानिएका चौधरीले विराटनगरमा आएपछि पनि खुलेआम भ्रष्ट्राचारलाई बढवा दिँदै आएका स्रोतको दाबी छ । उनको निर्देशनमा लेखा अधिकृत र अरु केही कर्मचारीहरुले पनि फर्जी विल भरपाइ बनाउन सहयोग गर्दै आएका छन् ।
साल्ट ट्रेडिङ कोशी प्रदेश कार्यालय विराटनगरमा भएको भ्रष्टचारबारे आन्तरिक कर्मचारीहरुबाटै अख्तियार प्रदेश कार्यालय इटहरीमा पनि गत जेठमै प्रगतिशील युवाहरुको समूहको नाममा उजुरी परिसकेको छ । तर, उक्त उजुरीबारे अख्तियारले पनि छानविन गर्न कुनै चासो नदिएको उजुरकर्ता युवा बताउँछन् । उजुरकर्ताहरुका अनुसार सबै कार्यहरु खुलेआम झैं भरहेकोले गहन छानविन गरेमा उजुरीमा उल्लेख भएका सबै आरोपहरु प्रमाणित हुने अवस्था छ । उजुरकर्ता एक युवाले भने ‘भ्रष्टचारको सञ्जाल माथिदेखि तलसम्म बलियो बनाउन सफल भएकैले होला विराटनगरका प्रमुख राधेश्याम चौधरीलाई कुनै कार्वाही नै भएन ।’
अख्तियारमा भ्रष्टचार विरोधी युवा र केन्द्रीय कार्यालयमा कर्मचारीहरुले दिएको उजुरी अनुसार विराटनगर प्रमुख राधेश्यामले हिमालय खाद्य उद्योगका नाममा बनाएर ठगी गर्ने गरेको, आफ्नै छोरालाई डाक्टर बनाएर मजदुर कर्मचारीको प्रेसर जाँच्न लगाएर मनमौजी भुक्तानी दिने गरेको, रङरोगन र सप्लायर्सका सामान विराटनगरमा पाउँदा–पाउँदै जनकपुरमा रहेको आफन्तको पसलदेखि मगाएर महँगो दाम तिरेको, ढुवानी भएर आएको मलमा हिनामिना गर्ने गरेकोदेखि लोडअनलोडमा समेत पैसा लिने गरेको आरोप लगाइएको छ ।
यसैगरी गहुँको बिउमा व्यापक भ्रष्ट्राचार गर्ने गरेको र व्यापार प्रर्वद्धनका नाउँमा आफनै छोराको बिहेको खर्चसमेत कम्पनीका नाममा हालेर भ्रष्ट्राचार गरेको निवेदकको आरोप छ । प्रमुख राधेश्यामले भ्रष्ट्राचार गरेकै रकमबाट काठमाडौ र विराटनगरमा करोडौं मूल्यका कैयांै कित्ता घडेरीहरु पनि किनिसकेकोले सम्पत्ति छानबिन शुद्धीकरणमा मुद्दा चल्ने हो भने स्पष्ट देखिने उनले बताए ।
साल्ट ट्रेडिङ प्रदेश कार्यालय विराटनगरमा हुँदै आएको भ्रष्टचारको विषयमा पहिलेदेखि नै कर्मचारी वृत्तबाटै आवाज उठ्दै आएको थियो । ‘खुलेआम भइरहेको भ्रष्टचारले कम्पनीकै बेइज्जत भयो भनेर केन्द्रीय कार्यालयमै सप्रमाण उजुरी दिँदा त केही भएन भने अब आफ्नो जागिर नै धरापमा पारेर कोही कसैले जोखिम किन लिन्छ ? बरु हामी सबै टुलुटुलु हेरेर बस्न बाहेक अरु के नै गर्न सक्छौ र ?’, एक कर्मचारीले भने ।
साल्ट ट्रेडिङ कोशी प्रदेश कार्यालयमा भएको भ्रष्ट्राचारबारे त्यहाँका आन्तरिक कर्मचारीहरुले ‘यो त खुलेआम कम्पनीको बेइज्जत नै भयो’ भन्दै मुख्य व्यवस्थापक राधेश्यमविरुद्ध केन्द्रीय कार्यालयमा कार्यकारी निर्देशक उर्मीला श्रेष्ठ, आलेप विभाग, प्रशासन महाशाखा, नुन र मल विभागलाई पनि लिखित जानकारी गराइसकेका छन् । कुन र कहाँका सहकारीले कति मल खरिद गरे ? हिमालय खाद्य उद्योगका नाममा के कसरी भ्रष्ट्राचार भयो ? नुन आयात भएका खाली बोराहरु कता हराए ? चालकहरुले चलान लिँदा तिरको पैसा किन आम्दानीमा जम्मा भएन र सही किर्ते हो हैन ? भनेर खोजी गर्ने हो भनेपनि सहजै छानविनबाट भ्रष्ट्राचार खुल्ने स्रोत दाबी गर्छ । तर केन्द्रबाटै भ्रष्टाचारलाई संरक्षण गरेकोले प्रमुख चौधरीको आत्मबल बलियो भएको र जसलाई जेपनि गर्न सक्छु भन्दै खुलेआम भ्रट्राचार गरिरहको कर्मचारी बताउँछन् । भ्रष्टचारबारेको सूचना आन्तरिक रुपमा केन्द्रिय कार्यालयलाई लिखित जानकारी गराएको भन्दै विराटनगका प्रमुख चौधरीले केही कर्मचारीलाई अभद्र गालीगलौज गर्दै कुटपिटको प्रयाससमेत गरेको स्रोत बताउँछ ।
साल्ट ट्रेडिङ विराटनगरमा १५ जना कर्मचारी तथा ७० जना महिला र ४० जना पुरुष मजदुर छन् । प्रमुख चौधरीले कृषि मन्त्रालय मार्फत आयात भएको सरकारी अनुदानको मलमा पनि चलाखीपूर्वक व्यापक अनियमितता गर्दै गराउँदै आएका छन् । तेस्रो र दोस्रो मुलुकबाट आयात भएको मल विरगञ्ज नाका हँुदै विराटनगर कार्यालयको गोदाममा आउने गरेको छ । यसरी मल आउँदा विरगञ्जमा अनलोड भएर फेरि लोड भै आउने र विराटनगर गोदाममा फेरि अनलोड हुने गर्दछ । यसैलाई कारण देखाएर दर्जनौं मेट्रिक टन मल नष्ट भएको देखाएर प्राप्त भएको मल निजी कम्पनीहरुलाई बिक्री गर्ने गरिएको छ । मानौं एक सय मेट्रिक टन मल आयात भएको छ भने ८० मेट्रिक टनको मात्र इन्ट्रि देखाएर २० मेट्रिक टन मल बिक्री गरिएको अख्तियारमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।
यति मात्र हैन कम्पनीले मल बिक्रि गर्दा तोकिएको सहकारीहरु मार्फत विक्रि गर्नुपर्दछ । तर कोशी प्रदेश कार्यालयमा चाहिँ सहकारीको बिल मात्रै बनाएर मल बिक्री भएको देखाइन्छ । वास्तविक बिक्री भने आफ्नो सम्पर्कमा रहेका व्यापारीको डिलरहरूलाई गर्ने गरिन्छ । जसले गर्दा किसानले सधँै मल सहकारीबाट सहज रुपमा पाउँदैनन् र निजी पसलहरुबाट महँगोमा किन्नुपर्दछ । यो कार्यमा चौधरीले प्रभु साह नामका व्यक्तिसँग साँठगाठ बनाएको स्रोत दाबी गर्छ ।
कतिसम्म भने प्रमुख राधेश्याम चौधरीले नुन प्याकेजिङ भैसकेपछि खाली भएका बोरासमेत चोरी गरेर कवाडीमा महँगोमा बिक्री गर्ने गरेका छन् । जबकी हजारौं केजी परिमाणमा हुने उक्त बोराहरु कवाडीलाई ठेक्का मार्फत विक्री गराएर कम्पनीमा राम्रो आम्दानी बाँध्न सकिन्छ । ती बोराहरु कवाडीहरुले मिलेमतोमा हानाथापा गरेर लाने गरिएको बताइएको छ ।
साल्ट ट्रेडिङ प्रदेश कार्यालय विराटनगरमा हेटौंडा कार्यालयबाट पठाइँदै आएको गहुँको बिऊमा पनि भ्रष्टचार हुँदै आएको स्रोत बताउँछ । हेटौंडाबाट आयात भएको सयौं मेट्रिक टन गहुँको बिऊ सोझै डिलरकोमा पठाइन्छ । तर खर्च भने पहिले प्रदेश कार्यालयमा अनलोड भएर फेरि लोड भएको देखाइन्छ । जुन खर्च लाखौंमा हुने गरेको छ । प्रादेशिक कार्यालय विराटनगरमा कतिसम्म गरिन्छ भने नुन र मल लोड भएका ट्रक र ट्रयाक्टरहरुले पाँच सयदेखि एक हजार रुपैयाँ अबैध खर्च नदिएसम्म चलान नै दिने गरिँदैन । यसैले चलानका लागि रुँघेर दुःख पाउनुभन्दा पाँच सय हजार रुपैयाँ दिन चालकहरु बाध्य हुने गरेको स्रोत दाबी गर्छ ।
कार्यालय प्रमुख चौधरीले भने केही कर्मचारीले आफू विरुद्ध अनावश्यक उजुरी गरेको बताए । ‘एक जना कर्मचारीले मेरो विरुद्ध प्रचार गरिरहेको छ । त्यसको सरुवा पनि भइसकेको छ,’ उनले भने, ‘उजुरीमा भनेजस्तो र तपाइंँलाई सुनाएजस्तो केही होइन ।’