विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ । बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो ।
र्
उहाँको मुटुको एक नसा साँधुरो थियो । उक्त नसा खोलिएको छ,’ उपचारमा समलग्न चिकित्सकले भने, ‘हिजो (बिहीबार) एन्जिओप्लास्टी गरिएको हो ।’ एन्जियोप्लास्टी भनेको रक्त नली (खासगरी मुटुको रक्त नली) मा भएको अवरोध हटाउने चिकित्सा प्रक्रिया हो । कहिलेकाहीँ रक्त नलीमा बोसो वा अन्य पदार्थ जम्मा भएर साँघुरो हुन्छ, जसले रक्त प्रवाहमा समस्या ल्याउँछ । यो समस्यालाई हल गर्न एन्जियोप्लास्टी गरिन्छ ।
ती चिकित्सकका अनुसार नेपालको मुटुको समस्या पहिल्लादेखि नै थियो । ‘उहाँको मुटुको नसामा पहिल्यै देखि समस्या थियो । अप्रेसनको योजनाबद्ध रूपमा गरिएको हो,’ ती चिकित्सकले भने, ‘अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।’ मुटुको उपचारपछि नेपाललाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।
एन्जिओप्लास्टी के हो ?
मुटुको रक्तनलीमा अवरोध देखिएपछि तार, विशेष किसिमको बेलुन र स्टेन्टको मद्दतले साँघुरो भएकाले रक्तनलीलाई फराकिलो बनाउने वा बन्द भएको नलीलाई खुलाउने काम गरिन्छ ।
अवरोध भएको रक्तनलीलाई खुलाउने र रक्तप्रवाहलाई राम्रो बनाउने पद्धतिलाई नै एन्जिओप्लास्टिी भनिन्छ । यस उपचार पद्धतिमा शल्यक्रिया नगरी तिघ्रा वा हातको रक्तनली भएर मुटुको रक्तनलीमा तार छिराएर बेलुन वा स्टेन्टको मद्दतले अवरोधलाई हटाउने काम गरिन्छ ।
बेलुनको मद्दतले साँघुरो ठाँउलाई फराकिलो बनाइन्छ र त्यसपछि स्टेन्ट राखिन्छ । स्टेन्ट विशेष प्रकारको मेटलबाट बनेको रक्तनलीको आकारको हुन्छ । यसको काम फराकिलो गरिसकेको आर्टरीलाई फेरि साँघुरो हुनबाट बचाउनु र रक्तप्रवाहलाई सामान्य बनाउनु हो ।
– अनलाइन खबरबाट साभार