विराटनगर । पोखरिया मावि विराटनगर मोरङको आयोजना र विराटनगर महानगरको समन्वयमा भएको हाजिरीजवाफ प्रतियोगितामा पोखरिया मावि प्रथम भएको छ ।
विराटनगरमै शुक्रबार र शनिबार संचालित प्रतियोगितामा २९ वटा सामुदायिक विद्यालय सहभागी भएका थिए । जसमा पोखरिया मावि प्रथम हुँदै पुरस्कार स्वरुप १५ हजार राशीको नगद, शिल्ड र मेडल प्राप्त गरेको छ । यस्तै मदननगर आधारभूत विद्यालय विराटनगर दोस्रो हुँदै १२ हजार नगद, शिल्ड र मेडल पुरस्कार प्राप्त गरेको छ । तृतीय स्थान ल्याएको आदर्श मावि विराटनगर ७ ले ९ हजार नगदसहित शिल्ड र मेडल तथा सत्यनारायण मावि विराटनगर ७ ले चौथो स्थान हुँदै नगद ६ हजार, शिल्ड र मेडल प्राप्त गरेको छ ।
विजयी टिमलाई विराटनगर महानगर प्रमुख नागेश कोइराला, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख टंकप्रसाद गौतम, शैक्षिक प्रशासन महाशाखाका कृष्ण भट्टराई, ३ नम्बरका वडाध्यक्ष बासुबहादुर बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा महानगर प्रमुख कोइरालाले अभिभावकको आकर्षण सामुदायिक विद्यालयमा बढेको भन्दै पोखरियालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद गौतम र विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले कार्यक्रमबारे प्रकाश पारेका थिए ।