विराटनगर । मोरङको कटहरी गाउँपालिकामा दर्ता रहेको विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघ संकटग्रस्त अवस्थामा पुर्याउने भूमिकामा सहकारीका अगुवा र अभियान्ताहरु नै संलग्न रहेको देखिएको छ ।
सहकारी संघको १ करोड २३ लाख ७५ हजार रुपैयाँ शेयर पूँजी थियो । संघको नाममा अहिले राष्ट्रिय सहकारी बैंकमा १९ लाख ९० हजार १५५ रुपैयाँ मात्रै रहेको छ । सहकारी संघको १ करोड ३ लाख रुपैयाँ जोखिममा छ ।
कोशी प्रदेशका विभिन्न ३२ वटा सहकारीले सर्वसाधारणले बचत गरेको रकम विशिष्टीकृत सहकारी संघमा शेयर पुँजीको रुपमा लगानी गरेका थिए । सहकारी संघमा १ लाखदेखि ४ लाख रुपैयाँसम्म लगानी सदस्य सहकारीहरुले गरेका छन् । सहकारी संस्थाको लगानीबाट खुलेको संघमा सहकारी अभियानका अभियान्ता र केन्द्रीय नेताहरुको नाम सञ्चालकको रुपमा रहेको छ ।
सहकारी संघको सल्लाहकारमा रहेका रमेशप्रसाद पोखरेल विराटनगरको स्टार बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक हुन् । राष्ट्रिय सहकारी महासंघ वरिष्ठ उपाध्यक्ष रहेका उनका सहकारीले विशिष्टीकृतमा ४ लाख रुपैयाँ लगानी गरेको छ । विशिष्टीकृत सहकारी गठन गर्ने कामको अगुवाइसमेत पोखरेलले नै गरेका थिए ।
संघको अर्को लगानीकर्ता संस्था विराटननगरकै पब्लिक स्टार बहुउद्देश्यीय सहकारी हो । उक्त सहकारीले विशिष्टीकृतमा ४ लाख रुपैयाँ नै लगानी गरेको छ भने उक्त सहकारीका सञ्चालक उद्धब पोखरेल हुन् । उनी स्टार बहुउद्देश्यीय सहकारीका सञ्चालक रमेश पोखरेलका सहोदर भाइ हुन् ।
यस्तै सहकारी संघका शेयर सदस्य रहेका वीरेन्द्रप्रसाद यादव मोरङ सहकारी संघको अध्यक्षमा पराजित सहकारीका नेता हुन् । उनको गोपाल बहुउद्देश्यीय सहकारी संस्थाले संघमा ४ लाख रुपैयाँ लगानी गरेको छ ।
यस्तै महालक्ष्मी बचत तगा ऋण सहकारी संस्थाबाट ३ लाख रुपैयाँ लगानी गरेर शेयर सदस्य बनेका लक्ष्मी सापकोटा नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य हुन् । विशिष्टीकृतमा १ लाख रुपैयाँ लगानी गरेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक राकेश दाहाल मोरङ जिल्ला सहकारी संघका सचिव हुन् । मोरङ सहकारी संघका कोषाध्यक्ष रहेका अमृत गुरुङको सञ्चालक रहेको कृपालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले पनि विशिष्टीकृत सहकारीमा ४ लाख रुपैयाँ लगानी गरेको छ ।
यस्तै ४ लाख रुपैयाँ नै लगानी गरेको सहकारी संस्था लि. झोराहाटका विजयकुमार माझी जिल्ला सहकारी संघ मोरङका वरिष्ठ उपाध्यक्ष हुन् । यस्तै ४ लाख नै लगानी गरेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाका कमलेश्वर ठाकुर पनि जिल्ला सहकारी संघ मोरङका सञ्चालक सदस्य हुन् । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाका जीवन काफ्ले, सृष्टि बचत तथा ऋण सहकारी संस्था लि.का बुद्धीबहादुर थापा, ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सन्तोषकुमार मण्डल पनि सहकारीहरुका नेता तथा अभियान्ता हुन् ।
अहिले डुबेको विशिष्टीकृत सहकारी संघ गठन गर्न पहल गर्ने रमेश पोखरेल, उद्धब पोखरेल र जिल्ला सहकारी संघ कोशी प्रदेशका अध्यक्ष डिल्ली पोखरेल सहोदर दाजुभाई हुन् । उनीहरुको परिवारै सहकारीमा जोडिएको छ ।
मोरङ र कोशी प्रदेशमा सहकारी क्षेत्रमा उनीहरुकै प्रभाव बढी रहेको त्यस क्षेत्रका जानकारहरु बताउँछन् । विशिष्टीकृत सहकारी संघ पनि पोखरेल परिवारकै अगुवाइमा स्थापना गरिएको थियो ।
संघका अध्यक्ष देबेन्द्र पौडेल, सचिव राकेश दाहालको मिलेमतोमा ३२ वटा सहकारीको झण्डै १ करोड ३ लाख ८४ हजार ८४४ रुपैयाँ जोखिममा परेको छ । त्यसबारे सहकारीको हिसाबकिताब हेर्न नपाएका शेयर सदस्यहरुले साधारणसभाको माग गरेपनि साधारणसभा बस्न सकेको छैन । सहकारीका सदस्यहरुले त्यसबारेमा सम्बन्धित निकायमा उजुरीको तयारी गरिरहेका छन् ।
२०७७ असार ९ गते स्थापना भएको उक्त सहकारीले कटहरीको कृषि तथा थोक बजार विक्री केन्द्र सञ्चालन गर्ने जिम्मा लिएको थियो । वार्षिक १८ प्रतिशतसम्म नाफा हुने दाबी गरेर खोलिएको सहकारी संघका सञ्चालकले तरकारी बजार मात्र नभएर संस्था नै अलपत्र बनाएका छन् ।
२०७८ कार्तिक ३ र ४ गते बेमौसमी वर्षाभएपछि तरकारी बजारमा गोदाममा रहेको ९० हजार किलो प्याज डुबेको झुठो विवरण दिएर घाटा देखाइएको सहकारीकै सञ्चालकहरु बताउँछन् । सञ्चालकहरुले त्यो तरकारी खरिद गरेको विवरणसमेत दिन सकेका छैनन् भने सहकारी सुरपरीवेक्षण समितिले सञ्चालकले गरेको दावी पत्याउने आधार नभएको प्रतिवेदन दिएको छ ।