भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि उपकुलपति गिरी प्रतिष्ठान फर्किए

विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले भ्रष्टाचार मुद्दामा विषेश अदालतबाट सफाइ पाएका छन् । बिशेष अदालतबाट भ्रष्टचार मुद्दामा सफाई पाएपछि डा.गिरीले बिहीबार प्रतिष्ठानमा पदवहाली गरेका छन् ।

गिरीलाई प्रतिष्ठान प्रवेश गर्दा पदाधिकारी, कर्मचारी तथा शिक्षकहरुले स्वागत गरेका थिए । पदवहाली गरेपछि डा.गिरीले अदालतबाट न्याय पाएको प्रतिक्रिया दिँदै सबैलाई न्याय गर्ने ढंगले काम गर्ने बताए । शिक्षक, कर्मचारीहरुको अन्तर्वार्ता नरोक्ने भन्दै उनले आफैले शुरु गरेको बढुवा प्रक्रिया टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

विगतमा भएको घटनाहरुलाई बिर्सेर अघि बढ्न आग्रह गर्दै डा.गिरीले रोडम्याप बनाएर प्रतिष्ठानको सर्वांगिण हितमा लाग्ने पनि प्रतिवद्धता जनाएका छन् । डा.गिरीले अदालतबाट सफाई पाएसँगै करिब ८ महिनादेखि प्रतिष्ठानको कायममुकायम उपकुलपतिको रुपमा कार्यरत प्रा.डा.प्रल्हाद कार्की स्वतः विदा भएका छन् । कार्कीले एक विज्ञप्ती जारी गर्दै का.मु.उपकुलपतिको जिम्मेवारी दिने स्वास्थ्यमन्त्रीलाई आभार व्यक्त गरेका छन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ ९ गते बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उपकुलपति डा.गिरी निलम्बनमा परेका थिए । डा.गिरीले कुनै पनि आधिकारिक निकायबाट प्रोफेसर पद प्राप्त गरेको भएपनि ओहदा लेखेर दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

यस्तै, डा.गिरीलाई प्राध्यापक पद अनुमोदनको लागि काठमाण्डौं विश्वविद्यालयमा सिफारिश गर्नसक्नेमा आफैले नियुक्ती दिएर मतियारको भुमिकामा देखिएको भन्दै अख्तियारले विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीविरुद्ध पनि मुद्दा दायर गरेको थियो । अदालतले दुबै लाई सफाई दिने फैसला गरेको छ ।

न्यायाधिशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले सफाई दिने फैसला गरेको विशेष अदालतले जनाएको छ । अदालतको फैसलाको विवरण भने सार्वजनिक भइसकेको छैन ।

बिहिबार, १७ फागुन, २०८०, साँझको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर