विराट विशिष्टीकृतको अनियमितता प्रकरण : झुठो मुचुल्कामा वडाध्यक्ष र प्रहरीको हस्ताक्षर

बाढीबाट ५५ लाखको तरकारीजन्य वस्तु र १ करोड बराबरको भौतिक संरचनामा क्षति भएको झुठो सर्जमिन मुचुल्का

विराटनगर । विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघका सञ्चालकले शेयरधनीको रकम हिनामिना गर्न तयार पारेको झुठो विवरण वडाध्यक्ष र प्रहरीले प्रमाणित गरेको पाइएको छ ।

मोरङको कटहरीमा स्थापना भएको सहकारी संघले शेयर सदस्यहरुबाट संकलन गरेको शेयर पुँजीको रकमको हिसाबकिताव पारदर्शी नभएको आरोप लागेकोमा बाढीले क्षति गरेको भन्दै झुठो सर्जिमिन मुचुल्का गरेको पाइएको हो ।

सहकारी संघको १ करोड २३ लाख ७५ हजार रुपैयाँ शेयर पूँजी थियो । संघको नाममा अहिले राष्ट्रिय सहकारी बैंकमा १९ लाख ९० हजार १५५ रुपैयाँ मात्रै रहेको छ । अरू सहकारीको कार्यालय, सहकारीका सम्पत्ती तथा हिसाव किताब विवरणहरु अन्यौलपूर्ण अवस्थामा रहेको शेयर सदस्य बलबहादुर घिमिरेले बताए ।

सहकारी संघका अध्यक्ष देबेन्द्र पौडेल र सचिव राकेश दाहालले संघको ९० हजार किलो प्याज बाढीले डुबेर बिग्रिएको तथा ३८ लाखभन्दा बढी रकम बजारमा बाँकी रहेको दावी गर्दै आएका छन् । तर, न बाढीले त्यो परिणामा प्याज बिग्रिएको आधार उनीहरुले दिन सकेका छन् न त बजारमा उठ्न बाँकी रकमको विवरण नै । बिग्रियो भनिएको ९० हजार किलो प्याज खरिद गरेको आधार पनि उनीहरुले दिन नसकेको सहकारीका सदस्यहरु बताउँछन् ।

अध्यक्ष पौडेल र सचिव दाहालले शक्तिकेन्द्रको प्रयोग गरेर गलत मुचुल्का तयार गरि शेयरको रकम हिनामिना गरेको आशंका सदस्यहरुको छ । २०७८ कार्तिक २ र ३ गते आएको बाढीले संघले सञ्चालन गरेको कटहरीस्थित तरकारी बजारमा रहेको प्याज डुबेर कुहिएको दावी अध्यक्ष र सचिवको छ । त्यो दावीलाई पुष्टि गर्न उनीहरुले बाढी आएको एक महिना ८ दिनपछि मात्र वडा कार्यालयमा मुचुल्काको लागि निवेदन दिएको पाइएको छ ।

वडा प्रहरी कार्यालय (ख) हाटखोला मोरङमा कटहरी फलफूल तथा थोक बजार विकास समितिको नाममा २०७८ मंसिर १० गते उनीहरुले निवेदन दिएका थिए । बाढीले डुबाएको ३८ दिनपछि ५० लाख क्षति भएको सर्जिमिन मुचुल्का गर्न आग्रह गरेबमोजिम आधार र प्रमाणबिनै प्रहरीले ४७ दिनपछि मुचुल्कामा सही गरेको देखिन्छ ।

कात्तिक २ गतेको बाढीको मंसिर १५ गते मुचुल्का तयार गरिएको थियो । मुचुल्कामा तरकारी तथा मेसिनरी औजारको अन्दाजी मूल्य ५५ लाख रुपैयाँ र भवन तथा संरचना कम्पाउण्ड वालको अन्दाजी मूल्य १ करोड रुपैयाँ गरी अनुमानित १ करोड ५५ लाख क्षति भएको उल्लेख छ । मुचुल्कामा कटहरी १ का शंकर राई, विजयकुमार भुजेल, अनिता देवी थापा, विकास कुमार माझी, चेतकुमार श्रेष्ठ र वडाध्यक्ष कपुरलाल माझी तथा तत्कालिन वडा प्रहरी कार्यालय (ख) हाटखोला मोरङकी इञ्चार्ज प्रहरी प्रहरी नायव निरीक्षक मुना डाँगी र प्रहरी जवान दिपेश पोखरेलले हस्ताक्षर गरेका छन् ।

मुचुल्कामा एक करोड बराबरको पर्खाल क्षति भएको उल्लेख गरिएको छ । उक्त पर्खाले प्रदेश सरकारको सहयोगमा कटहरी गाउँपालिकाले ३५ लाख ५९ हजारमा पहिलो र साढे १० लाखमा दोस्रो ठेक्का लगाएर निर्माण गरिसकेको छ । मुचुल्कामा १ करोडको पर्खाल क्षति भएको भनिएकोमा आधाभन्दा कम अर्थात करिब ४७ लाखमा पर्खाल निर्माण भएकोले मुचुल्का हावादारी भएको स्वतः प्रमाणित हुन्छ ।

सर्जिमिन मुचुल्का गर्ने तत्कालिन प्रहरी इञ्चार्ज डाँगीले आफू फिल्डमै गएर हेरेर मुचुल्का गरिदिएको दाबी गरेकी छन् । ‘क्षति, कति भयो भन्ने विषयमा म आफैं गएर हेरेर गरेको टिपोटको आधारमा गरेको हो,’ उनले भनिन्, ‘त्यस बेलाको फोटो खिचेको र आधार प्रमाणहरु अफिसमा होला, कागजतपत्र हेर्नुपर्छ, म त्यहाँबाट हिँडेको धेरै भइसक्यो । तर, पहिले टिपोट गरेकै आधारमै मुचुल्का गरेको हुँ ।’

खरिद बील र स्टोरमा रहेको भनिएको उक्त परिणामको प्याजको नापजाँच नै नगरी हचुवाको भरमा मुचुल्का उठाएको विशिष्टिकृत सहकारी संघको लेखा सुपरीवेक्षण समितिले निश्कर्ष निकालेको छ । ‘जिम्मेवार पक्षले घटना भएकै समयभित्र सम्बन्धित निकायमा निवेदन दिइ क्षतिको सर्वपक्षीय सर्जमिन र स्थलगत अनुगमन अवलोकन नगराई बाढी आएको ४७ दिनपछि वडा प्रहरी कार्यालयमा निवेदन दिई क्षति भएको भनिएको प्याजको अवशेष समेत नभएको अवस्थामा हचुवाको भरमा सर्जमिन मुचुल्का तयार गराएको देखिन्छ,’ लेखा सुपरिवेक्षण समितिका संयोजक टिकादत्त वनले दिएको निष्कर्षमा भनिएको छ, ‘वास्तविक क्षति भएकै हो भन्ने ब्यहोरा शङ्कास्पद देखिन्छ ।’

हाल राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका रमेश पोखरेलको अगुवाइमा स्थापना भएको सहकारी संघका अध्यक्ष र सचिवले प्रभाबमा पारेर त्यो मुचुल्का बनाएको दावी शेयर सदस्यहरुले गरेका छन् । ‘प्रहरीलाई र जनप्रतिनिधिलाई दबाब दिएर हचुवाको भरमा मुचुल्का उठाउन लगाइयो’ एक शेयर सदस्यले भने, ‘त्यसको उद्देश्य प्रदेश सरकारलाई बढी क्षतिपूर्ति दाबी गरेर पैसा खाने योजना थियो । तर, त्यो योजना पुरा भएन ।’

बाढीपछि विशिष्टीकृत सहकारी संघले प्रदेश सरकारमा क्षतिपूर्तीको माग गरेको थियो । संघ सञ्चालन गर्न १० करोड अनुदान र १ करोडभन्दा बढी क्षतिपूर्तिको दाबी गरेर प्रदेश कृषि मन्त्रालयमा निवेदन दिइएको थियो । प्रदेशका तत्कालीन कृषिमन्त्री रामबहादुर मगरले संघलाई क्षतिपूर्ति दिन कर्मचारीलाई दबाबसमेत दिएका थिए ।

सहकारी संघको अगुवा पोखरेल नेकपा एमालेका नेता हुन् । एमालेबाटै मन्त्री बनेका मगरले संघलाई क्षतिपूर्ती दिनुपर्ने अडान राखेका थिए । तर, मन्त्रालयका कर्मचारीले अस्वीकार गरेकोले संघले सरकारको रकम भने प्राप्त गर्न नसकेको मन्त्रालय स्रोतको भनाइ छ ।

सहकारीको संघको सञ्चालक समितिको बैठकले अध्यक्ष देवेन्द्र्र पौडेल, उपाध्यक्ष खोमप्रसाद बगाले र सचिव राकेश दाहाललाई नै खरिद तथा भण्डारण गर्ने र बिक्री वितरण गर्ने अधिकार दिएको थियो । यस्तै सहकारीको व्यवस्थापकको रुपमा गणेश ढकाल नियुक्त भएका थिए ।

संघका अध्यक्ष पौडेल र सचिव दाहालको मिलेमतोमा सहकारीमा अनियमितता भएको अन्य शेयर सदस्यहरुको दाबी छ । २०७७ असार ९ गते स्थापना भएको सहकारीले प्रदेशका कृषकहरुले उत्पादन गरेको कृषि उपजहरुको उचित मूल्य र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्य राखेको थियो । सोही उद्देश्य अनुरुप तत्कालिन अवस्थामा संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको कटहरीको कृषि तथा थोक बजार विक्री केन्द्र सञ्चालन गर्ने जिम्मा सहकारीले दिएको थियो ।

बजार सञ्चालन गर्ने उद्देश्य अनुसार कोशी प्रदेशका ३२ वटा सहकारी मिलेर १ करोड २३ लाख रुपैयाँ शेयरपूँजी जम्मा गरेका थिए । सहकारीले बजार जिम्मा लिएर केहि महिना सञ्चालन गरेको भएपनि बाढी आएपछि बजार पनि चलाएन । स्थापना भएको चार वर्ष कटिसक्दा सहकारीले प्रारम्भिक साधरणसभा बाहेक अर्को वार्षिक साधरणसभा पनि गर्न सकेको छैन ।

बिहिबार, १७ फागुन, २०८०, बिहानको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर