नेकपा स्थायी समिति बैठक २५ गते बस्ने

वामदेवलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने/तेस्रो अध्यक्षको च्याप्टर क्लोज

काठमाडौं । आगामी वैशाख २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिबालय बैठकले गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थायी समितिका सदस्यहरुको माग अनुसार बैठक राख्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यसअघि २४ गते सचिबालय बैठक बस्ने उहाँको भनाइ छ ।

बैठकले पार्टीको आन्तरिक जीवनमा देखा परेको समस्या र संकटलाई समाधान गर्नेगरी एकताबद्ध भएर जाने निर्णय गर्दै पार्टी एकतालाई रक्षा गर्दै एकतालाई कमजोर पार्ने कुनैपनि क्रियाकलापमा सामेल नहुने पार्टी पंक्तिलाई निर्देशन दिने निर्णयसमेत गरेको प्रवक्ता श्रेष्ठको भनाई छ । पार्टीलाई एकताबद्ध गरी बिधि पद्दति र कम्युनिष्ट मूल्य मान्यतामा सञ्चालन गर्ने तथा पार्टीको निर्देशनमा सरकार सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।

बैठकमा पार्टी र सरकार सम्बन्धि क्षेत्रमा भएका कमीकमजोरीबारे प्रधानमन्त्रीले आत्मालोचना गरेको श्रेष्ठले जनाकारी दिनुभयो । यसैगरी आफ्नो जिम्मेवारी अनुसार अर्का अध्यक्ष प्रचण्डसहित अन्य नेताहरुले पनि आत्मालोचना गरेको उहाँले बताउनुभयो ।

बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाएर सांसद बनाउन पहल गर्ने निर्णय निर्णयसमेत गरेको छ । तीन अध्यक्ष राख्ने विषयमा भने माधबकुमार नेपालले नै अस्वीकार गरेकोले त्यो विषय अब अगाडि नबढ्ने भएको छ ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेका थिए । तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए । नेकपा महासचिव विष्णु पौडेलले शनिबार स्थायी कमिटीको बैठक अहिले बसिरहन आवश्यक नरहेको बताएका थिए ।

शनिबार, २० बैशाख, २०७७, रातीको ०८:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर