मिटरब्याजी सुनिलबाट पीडित थपिँदै, प्रशासनले कार्वाहीमा तदारुकता नदेखाएको पीडितहरुको गुनासो

विराटनगर । मिटरब्याजमा ऋण लगानी गर्ने र नदिए उठिबास लगाउने विराटनगर–१८ का ५३ वर्षीय मिटरब्याजी सुनिलकुमार साहबाट पीडित भएकाहरू एकपछि अर्को बाहिर आउन थालेका छन् ।

विराटनगर–१८ दमादिगी बस्तीका मिटरब्याजी साहबाट आधा दर्जन बढी पीडित भएको खुलेपछि सोही बस्ती नजिक रहेको लावाघाट गाउँमा पनि ६ जनाभन्दा बढी पीडित भएको पाइएको हो । विराटनगर १८ लावाघाटकी ४५ वर्षीया जानकीदेवी मण्डलले ११ वर्ष अगाडि मिटरब्याजी सुनिलसँग १० धुर जमिन राजिनामा पास गरेर ४५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । जानकीको श्रीमान कुलानन्द मण्डलको नामको २४८ कित्ता नं. रहेको १० धुर जग्गा मिटरब्याजी साहले समयमै ऋण नदिएको भन्दै ५ वर्ष अगाडि बिक्री गरिदिए ।

साहले स्थानीय दयानन्द मण्डलाई उक्त जग्गा बिक्री गरेको खुलेको छ । पीडित जानकीदेवीले एक वर्ष अगाडि आफ्नो जग्गा भोगचलन गर्न जाँदा साहले बिक्री गरेको पत्तो पाएको बताइन् । ‘सम्पत्तीको नाममा तेही एक टुक्रा जग्गा थियो । त्यो पनि मिटरब्याजी साहले बिक्री गरेर खाइदियो’ उनले भनिन्, ‘अहिले फुसले छाएको छानोमा पाँच जनाको परिवार गुजरा चलाउँदै आएका छौं ।’ पीडित जानकीदेवीले धनीपूर्जा देखाउँदै न्यायको गुहार मागेकी छन् ।

जानकीको जस्तै समस्यामा परेकी छन्, सोही ठाउँकी ५० वर्षीया मिनादेवी मण्डल । बाँसले घेराबारा गरेको १० धुर जग्गमा घर बनाएर बसेकी उनले त्यहि जग्गा १० वर्ष अगाडि दृष्टिबन्धक राखेर सुनिलसँग ४५ हजार रुपैयाँ लिएकी थिइन् । उनले विभिन्न मितिमा सुनिललाई ८० हजार तिरिसकेकी छन् । तर, सुनिलले अझै ४ लाख ५० हजार रुपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएको उनले सुनाइन् ।

‘सम्पतीको नाममा यहि एक टुक्रा जमिन छ, त्यसमै छाप्रो हालेर ५ जनाको परिवार बसेका छौं’ उनले भनिन्, ‘साढे चार लाख रुपैयाँ नदिए जग्गा खाली गर्न सुनिलले धम्की दिने गरेको छ, बनिभुक्तो गरेर परिवार चलाउने हामी दुःखीले कहाँबाट यत्रो पैसाँ दिनु ?’

मिनादवी र जानकीदेवी उदाहरण हुन् । विराटनगर– १८ लावाघाटकी ४५ वर्षीया रेखा देवी यदावको सम्पत्ती पनि सुनिलले उसैगरी हडप्ने प्रयास गरिरहेका छन् । यादवले २ कठ्ठा जग्गा राखेर सुनिलसँग २ लाख रुपैयाँ ९ वर्ष अगाडि लिएकी थिइन् । उनले ३ लाख रुपैयाँ फिर्ता दिइसकेकी छन् । २ कठ्ठामध्ये १३ धुर जमिन सुनिलले रेखालाई फिर्ता गरिदिए पनि एक कठ्ठा ७ धुर जग्गा सुनिलले फिर्ता दिएका छैनन् । १२ लाख रुपैयाँ दिएमात्र बाँकी जग्गा फिर्ता दिने बताउँदै आएको उनले गुनसोा गरेकी छन् । आफ्नो जग्गा उकास्न अब लाखौं रुपैयाँ बुझाउनुपर्ने भएपछि यादव तनाबमा छ ।

प्रशासनको उदासिनता

विराटनगर–१८ ‘दमादीगी’ गाउँका झण्डै एक दर्जन आर्थिक विपन्न परिवारका सदस्यलाई मिटरब्याजमा ऋण लगानी गर्ने र नदिए उठिबास लगाउने मिटरब्याजी सुनिलविरुद्ध पीडितहरूले उजुरी दिएको सोमबार चार दिन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा ६ जना पीडितहरूले मिटरब्याजी विराटनगर १८ का साहविरुद्ध गत बिहीबार उजुरी दिएका थिए ।

साहबाट पीडित भएकाहरू विराटनगर १८ दमादीगीका ४८ वर्षीय दिलीप कुमार अमात, सोही ठाउँका ६८ वर्षीय महेश लाल मण्डल,४५ वर्षीय मिनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीय खिकीरी देवी साह र ४७ वर्षीय नारयण साहले मिटरब्याजी साहविरुद्ध उजुरी दिए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उजुरी दर्ता गरेपछि आइतबारदेखि पीडित र पिडक भनिएका व्यक्तिलाई कार्यालयमा झिकाएर प्रक्रिया अगाडि बढाउने बताएका थिए । तर, प्रशासनले सोमबारसम्म पीडित र पीडकलाई जिल्लामा ल्याएर छलफलसमेत गराएको छैन ।

यसअघि प्रजिअ भट्टराईले पहिलो चरणमा दुवै पक्षबीच छलफल हुने र सहमति नभए जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी पठाएर कार्वाही चलाउने बताएका थिए । तर, अहिलेसम्म प्रशासनबाट कुनै पहलकदमी नभएको पीडित रमानन्द मण्डलले बताए । प्रशासनले सोधपुछसमेत नगरेको उनको गुनासो छ ।

मिटरब्याजी साहले ऋण दिएको रकम समयमै नदिएको भन्दै विराटनगर १८ दमादीगी दिलिप कुमार महतको १० कठ्ठा जग्गा विक्री गरिदिएका छन् । दिलिपले चार वर्ष अगाडी ६ लाख रुपैयाँ ऋण लिएका थिए । ६ लाखको तीन लाख रुपैयाँ बुझाएका थिए । ढिलो कर्जा तिरेको भन्दै विराटनगर १८ मा रहेको किता नं. ३१७ र ३१६ को १० कठ्ठा जग्गा बेचिदिए । अहिले २२ लाख रुपैयाँ बुझाए जग्गा फिर्ता गरिदिने भन्दै आएका छन् ।

यसैगरी रमानन्द मण्डलले ४ कठ्ठा जग्गा सुनिलसँग धितो राखेर ६ वर्ष अगाडि २ लाख रुपैयाँ लिए । उनले १ लाख ८० हजार सुनिललाई सावा र ब्याज तिर्दैछन् । उनलाई अझै सुनिलले ८ लाख बुझाएमात्रै ४ कठ्ठा जग्गा फिर्ता दिने बताउँदै आएका छन् । यस्तै नारयण साहले तीन वर्ष अगाडी ७ लाख ऋण लिए । उनले अहिलेसम्म ऋणपान गरेर २१ लख ७ हजार रुपैया तिरेपछि मात्र ६ कठ्ठा जग्गा फिर्ता गरिदिए ।

आमा लक्ष्मीदेवी साहको जग्गा फिर्ता लिन उनी लडाइमा लागेका छन् । नारयणकी ६५ वर्षीया आमाले १७ धुर जग्गा सुनिलले राखेर १ लाख २५ हजार रुपैयाँ ऋण दिएका छन् । लक्ष्मीदेविले अहिलेसम्म ५५ हजार रुपैयाँ बुझाइसके । सुनिलले अझै ४ लाख ५० हजार रुपैयाँ दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।

महेशलाल मण्डलले सुनिलसँग २०६८ सालमा चार कठ्ठा जग्गा धितो राखेर १ लाख ६० हजार रुपैयाँ लिए । उनले ४ लाख ७० हजार रुपैयाँ तिरसके । अझै १९ लाख ९३ हजार रुपैयाँ बुझाएपछि मात्र जग्गा पास गरिदिने भन्दै आएका छन् । यस्तै खिकीरी देवी साहले ५ कठ्ठा जग्गा राखेर ७० हजार लिइन् । उनले २ लाख ५० हजार दिइन् । साहले अझै १९ लाख दिएमात्र जग्गा फिर्ता दिने बताउँदै आएका छन् ।

मङ्गलबार, १५ फागुन, २०८०, बिहानको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर