जनताको समस्या बुझ्ने चेष्टा

 गोकुल पराजुली

मुख्यमन्त्री केदार कार्की साताव्यापी पैदलयात्रामा निस्किएका छन् । पूर्व झापादेखि उदयपुरसम्म चुरेफेदी हुँदै फैलिएको जंगल क्षेत्रको यात्रा उनले जारी राखेका छन् । विशेष गरेर भारतबाट समय समयमा आउने हात्तीका कारण यस क्षेत्रका बासिन्दाहरुमा परेको प्रभावको जानकारी लिने र राज्यको तहबाट सम्बोधन गर्नुपर्ने नीतिगत र कार्यक्रमिक योजना बनाउन मुख्यमन्त्री कार्की पर्यटन, वन तथा वातावरणमन्त्रीलाई साथैमा लिएर हात्ती हिड्ने रुटमा हिडेका हुन् ।

हात्तीबाट सबैभन्दा धेरै प्रभावित झापाको बाहुनडाँगीबाट सुरुभएको पैदल यात्रा शनिबार साँझ सुनसरीको तालतलैया पुगेको छ । यसबीचमा मुख्यमन्त्री कार्कीले हात्ती हिड्ने बाटैबाटो हिडिरहेका छन् । जैविक मार्गमा पर्ने बस्तीहरुमा स्थानीयसँग अन्तरक्रिया गरेका छन् । जनताका समस्याहरु सुन्ने काम गरेका छन् । उनीहरुको आवश्यकताहरु प्रत्यक्ष बुझ्ने काम गरेका छन् र आगामी दिनमा बनाउनु पर्ने योजनाको स्केच पक्कै पनि मानसपटलमा कोरेका होलान् ।

यो यात्रापछि उनले हात्ती र मानव जोगाउने एउटा प्रभावकारी योजना अवस्य पनि बनाउलान् भन्ने विश्वास गरौं ! जेठ तेस्रो साता प्रदेश सभामा प्रस्तुत हुने नीति कार्यक्रममा असार १ गते पेश हुने बजेटमा त्यो अवश्य पनि मुखरित होला ।

हात्ती करिडोर निर्माण गर्ने भनेर सुरु भएको यो पैदल यात्राको अभियानमा मोरङ प्रवेश गर्नु अगाडि नै हात्ती करिडोर बनाउन खोजिएको होइन भन्ने तहसम्मको करेक्सन आइसकेको छ । यदि मुख्यमन्त्रीले यो यात्रा गर्दैनथे भने सरकारले सुरु गरेको करिडोर बनाउने अभियानलाई जबरजस्त लाद्नु पर्ने अवस्था आउन सक्थ्यो र दिनरात हात्तीसँग पौठेंजोरी खेलेर बसेकाहरुको वास्तविक पीडा बुझ्न सक्दैनथे । त्यस अर्थमा यो पैदल यात्रा सकारात्मक छ । जनस्तरमै पुगेर जनमत सुनेर योजना बनाउँदाको यो एउटा फाइदा पनि हो ।

यो यात्राका क्रममा जनसहभागिता भने अपेक्षित न्यून देखियो तर पनि प्रदेश सरकार जनताको गाउँबस्तीमा पुग्यो । गाउँको समस्या गाउँमै गएर बुझ्यो । विकासको अवस्था प्रत्यक्ष अवलोकन ग¥यो । पीडा सुनाउने मौका दियो । सुन्ने अवसर सिर्जना ग¥यो । प्रदेश सरकारको काम छैन भन्नेहरुलाई सरकार छ भन्ने सन्देश दिन पनि मुख्यमन्त्री सम्मिलित यो अभियानको एउटा महत्वपूर्ण पाटो हो भन्न सकिन्छ ।

केही समय अगाडि मुख्यमन्त्रीले भनेका थिए हात्ती करिडोर बनाउन करिडोर क्षेत्रमा पर्ने बस्ती सारिनेछ । तर यो यात्रापछि उनले भन्न थालेका छन् बस्ती सार्ने होइन हात्तीको जैविक मार्गमा पर्ने घरहरुको बिमा गर्ने हो । त्यस क्षेत्रमा लगाइने बालीको बिमा गर्ने र हात्तीले बाली नष्ट गर्यो भन्ने चिन्ताबाट किसानलाई सुरक्षित गर्ने हो । हात्ती र मानव दुवैको खान पाउने अधिकार सुरक्षित गर्ने हो भन्ने कुरा पनि मुख्यमन्त्रीले यो यात्राका क्रममा महसुस गरी आफ्नो बुझाइमा एउटा महत्वपूर्ण करेक्सन गरेका छन् । त्यसैले उनी अब बाली बिमामा संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारहरुको सहभागिताको खोजीमा लागेका छन् । त्यसका लागि छलफल गर्ने निश्कर्षमा पुगेका छन् । तीन तहको सरकार मिलेर शतप्रतिशत बिमा कार्यक्रम लागु गर्न सकेमा बाली खान पस्ने हात्ती धपाउनु पर्ने बाध्यता हट्ने र त्यसले मानवीय क्षति न्यूनीकरण गर्न सक्ने निश्कर्षको नजिक प्रदेश सरकार पुगेको छ । यो यात्राको अहिलेसम्मको एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । भलै यो बुझाइ उदयपुरसम्मको यात्रापछि फेरिन पनि सक्ला ।

सतहमा हेर्दा मुख्यमन्त्रीको पैदल यात्रा सामान्य झैं देखिए पनि यात्रा कष्टपूर्ण छ । दैनिक ३० देखि किलोमिटर दुरी लगातार सात दिनसम्म हिड्नु सजिलो छैन । पैतलामा उठेर फुटेको फोकालाई क्रयाक ब्याडेज बाँध्दै, खुट्टो खोच्याउँदै गरेको यात्राले दिने सन्देश भने महत्वपूर्ण छ । हरेक वर्ष हात्तीबाट हुने क्षति, त्यसका विषयमा गरिने बहस र राजनीतिक तथा प्रशासनिक उच्च तहले विगतमा गर्दै आएको नजरअन्दाजको अवस्थालाई अन्त्य गर्न अनि सबैको ध्यान खिच्न यो यात्रा सफल नै भएको । पृथ्वी सबैको साझा हो र यहाँ एकले अर्को जीवलाई निषेध होइन सहअस्तित्वमा आधारित परिवेश तायर पार्नु पर्छ भन्ने जनचेतना दिने भएकोले पनि यो सकारात्मक छ ।

अन्त्यमा यो यात्रा केवल आत्मरति लिने, कसैलाई देखाउने, बजेट खर्चिने र यात्रा सकिएपछि सकिने नहोस् । यसलाई अध्ययन र सिकाइको महत्वपूर्ण अवसरको रुपमा लिएर नयाँ र दूरगामी योजना बनाउनका लागि सार्थक बनोस् शुभकामना ।

आइतबार, १३ फागुन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर