डा.बालकृष्ण साह
एक युवा र युवतीलाई दाम्पत्य जीवनमा जोड्ने एवं उनीहरुको आफ्नो अलग संसार रचना गर्ने सामाजिक रीत हो, विवाह । यो पारिवारिक उल्लास हो र समाजिक सम्बन्धको विस्तार पनि हो । तर, विवाह त्यतिमात्र पनि होइन । सृष्टि परम्पराको लागि गरिने व्यवस्थित र विधिवत् प्रक्रिया हो ।
बिडम्बना चाहिँ के छ भने विवाह हाम्रो लागि बाध्यात्मक बन्दै गएको छ । खर्चिलो बन्दै गएको छ । झन्झटिलो बन्दै गएको छ । कतिको लागि गलपासो पनि । सम्भवतः समाज विकासको क्रममा जसरी विवाहको परम्परा सुरु भयो, त्यो सामुहिक एकता र सहकार्यको उत्सव थियो । छिमेकी, आफन्तको विवाहमा सबैजना भेला हुन्थे । खानेकुरा जुटाउँथे । साथ–सहयोग गर्थे । घर सजाउने, लिपपोत गर्ने, भोज भत्तेर लगाउने, जन्तीलाई बाँढ्ने काममा छिमेकीहरु अग्रसर हुन्थे । वैवाहिक कार्यक्रम धुमधामसाथ सम्पन्न हुन्थ्यो । सबै त्यसमा सम्मिलित भएर रमाउँथे ।
तर, अहिले समयले कोल्टे फेरेको छ । विवाह सृष्टि परम्परा भन्दा पनि देखासेखी र बाध्यात्मक परिबन्ध बन्दै गएको छ । अहिले विवाहका लागि विगतमा जस्तो भेला हुने, साथ सहयोग गर्ने परिपाटी हराएको छ । ‘चट् मंगनी, पट् विवाह’ हुने गरेको छ । अर्थात फास्टफुड विवाह । विवाहमा सहयोग गर्ने चलन हराइ नै सकेको छ ।
घर सजाउने, गेट बनाउने सबै काम इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई जिम्मा लगाइन्छ । भोजभत्तेर होटल, क्याटरिङ, पार्टी प्यालेसमा गरिन्छ । यस बाहेक गरगहना, आभुषण, फर्निचर, ड्रेस अनि भोजभतेर, पार्टी, रिसेप्सन आदिले गर्दा अभिभावकहरुको ढाड सेक्ने हुन्छ । मधेसी समुदायमा अझ आफन्तहरुलाई गर्नुपर्ने “बिदाइ” ले थप खर्चिलो बनाएको हुन्छ ।
मधेसी समुदायमा दहेज, दाइजो, तिलक जस्ता प्रथाले महंगो भएको हो । पहाडे समुदायमा त्यस्तो छैन भनेर धेरैलाई लागेको हुन सक्छ । तर वास्तविकता त्यस्तो छैन । पहाडमा पनि विवाहको रुप र रंग बदलिएको छ । यो एक खर्चिलो र देखावटी संस्कृति बन्दैछ ।
यसको सोझो असर आर्थिक अवस्था कमजोर भएको परिवारमा छ । उमेर पुगेका छोरा वा छोरीको विवाह गरिदिनै पर्ने बाध्यता छ । त्यस्तो अवस्थामा ऋण काढेर, घरजग्गा बेचेर वा भएभरको कमाइ सिध्याएर विवाह गरिदिनुपर्ने विषमा अवस्थाले धेरै परिवारको निद्रा हराइदिएको छ ।
यस्तो अवस्थामा के गर्ने त ? विवाह नै नगर्ने भन्ने हुँदैन । वैवाहिक समारोह नै नगर्ने भन्ने कुरामा पनि सबैजना एकमत नहोला ।
त्यसैले यस्तो अवस्थामा सबैभन्दा सजिलो उपाय हो, सामूहिक विवाह । एकै पटकमा धेरै जोडीहरुको विवाह गर्ने भएपछि सजावट अनि स्थानको खर्चमा केहि कटौती हुनु स्वभाविक हो । तर एकै परिवारको धेरै जनाको एकै साथ विवाह गर्न सजिलो पक्कै छैन । विवाहयोग्य उमेरका सन्तानहरु हुनुप¥यो, अनि उनीहरुलाई मिल्ने वर–बधु पनि हुनुप¥यो । त्यसैले परिवारमा नै सामुहिक विवाह अलिक सम्भव छैन भन्दा फरक नपर्ला ।
सामुहिक विवाह असम्भव चाहिँ छैन । परिवारकै सदस्यहरुको भन्दा पनि समुदायको, एउटै वर्गको, एउटै क्षेत्रको सदस्यहरुलाई समेट्न सके, यो सम्भव छ । मोरङ जिल्लामा भएका तेली समुदायलाई तेली कल्याण समाज नेपाल मोरङले समेट्ने कोसिस गर्ने भएको छ । आर्थिक कारणले विवाह गर्न नसकेका सजातीय र केही गैरजातीय वर–बधुहरुको सामुहिक विवाह तेली कल्याण समाज मोरङले गर्ने भएको छ । यसै वर्षदेखि सामुहिक विवाह गरिदिने र हरेक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य समाजले राखेको छ ।
सामुहिक विवाहका लागि जिल्ला कार्यसमितिले र समाजका नगर÷गाउँ÷वडा तथा उपसमितिहरु मार्फत आव्हान गर्ने र निश्चित समयभित्र आवेदन गरेका जोडीहरुको “दिवा लग्न” मा सामुहिक विवाह गराउने अवधारणा लिएको छ । आवेदन गरेका जोडीहरुको जन्तीहरुलाई सामुहिक भोज, विवाह गराउने पण्डित र नाई (ठाकुर)को खर्च, यज्ञ सामग्री, बेहुला र बेहुलीलाई कन्यादानको पहिरन, कन्यादानमा दिइने सामग्रीहरु र केही आभुषणसमेत समाजले नै व्यवस्थापन गरिदिने गरि विवाह गराउनेछ ।
तर, यस सामुहिक विवाह गर्दा बेहुला वा बेहुली चाहिँ अभिभावकहरुले नै तय गरेको हुनुपर्छ । नेपालको कानुनले तोकिएको उमेर र मापदण्ड पूरा गरेरमात्र विवाह गराउने र विवाह पछिको सम्बन्धमा समाजको कुनै हस्तक्षेप वा सरोकार नरहने गरी हुनेछ । विवाहमा कुनै किसिमको दाइजो (दहेज) लिन–दिन पाइने छैन । विवाह समापनपछि
नवदम्पतिहरुलाई शुभआशिर्वादसँगै उपहार दिन चाहिँ पाउने व्यवस्था गरिनेछ । विवाहमा कन्यादान गर्ने अवसर चाहिँ समाजले कार्यक्रमको प्रायोजन गर्ने सदस्यलाई उपलब्ध गराउने छ । यस आर्थिक वर्षभित्र गरिने सामुहिक विवाहका प्रायोजन समाजका आजिवन सदस्य विराटनगर १५ का विजय साह र उनका पत्नी श्रीमति नमिता साहले गर्ने भएको छ । समाजको यो कदमले दहेजविरुद्धको अभियान र संस्कृत जोगाउन महत्वपूर्ण पहल हुनेछ ।
(साह तेली कल्याण समाज नेपाल, मोरङका अध्यक्ष हुन्)