विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले प्रतिस्पर्धाविना चिकित्सक नियुक्त गर्न सुरु गरिएको प्रक्रिया स्थगित भएको छ ।
अस्पताल विकास समिति अध्यक्ष र मेडिकल सुपरिटेण्डेन्टको मिलेमतोमा निकट व्यक्तिलाई करारको चिकित्सक नियुक्त गर्न आव्हान गरिएको विज्ञापन चौतर्फी विरोधपछि स्थगित भएको हो ।
अस्पताल प्रशासनले बुधबार सूचना जारी गरि तीन चिकित्सक नियुक्तिको लागि फागुन ११ गतेको लागि लिने भनिएको अन्तर्वार्ता अर्को सूचना नभएसम्मको लागि स्थगित गरेको जनाएको छ । मिलेमतोमा तीन जना आठौं तहका मेडिकल अधिकृत अन्तरवार्ता मात्र लिएर नियुक्ति दिने तयारीको साथ फागुन ४ गते अस्पतालले ७ दिने सूचना सार्वजनिक गरेको थियो । सूचना प्रकाशित भएको ७ दिन पुरा भएकै दिन अन्तरवार्ताको तयारी गरिएको थियो ।
विकास समितिको निर्णयबिनैै अस्पतालले तीन महिने सेवा करारका लागि भनेर फागुन ४ गतेको ७ दिने सूचना वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । यसअघि माघ ४ गते अस्पतालले कर्मचारी नियुक्त गर्न निकालेको सूचनामा आठौं तहको मेडिकल अधिकृतलाई अन्तरवार्ता र लिखित परीक्षा दुबै लिएर नियुक्त गर्ने व्यवस्था गरेको थियो । एक महिला अगाडिको सूचना अनुसार आवेदन दिएकाहरुको परीक्षा नै सञ्चालन नगरि तीन मेडिकल अधिकृतलाई अन्तवार्ता मात्र लिएर नियुक्त गर्ने तयारीको अस्पतालकै कर्मचारी युनियनले विरोध गरेको थियो ।
खुल्ला प्रतिस्पर्धाबिना अन्तरर्वार्ताको भरमा मात्रै चिकित्सक नियुक्तिका लागि सूचना जारी गरेर चलखेल गरेको समाचार हाम्रोमतसहित सञ्चार माध्यममा पनि प्रकाशित भएको थियो । कोशी अस्पताल विकास समिति कर्मचारी यूनियनले त्यसको विरोधमा विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवाल र मेसु डा.चन्द्रभाल झालाई ज्ञापनपत्र नै बुझाएको थियो ।
विरोधपछि अहिलेलाई अन्तरवार्ता स्थगित गरिएको हो । ‘फागुन ११ गते हुने भनिएको विज्ञापन मेडिकल अधिकृत आठौ तहको अन्तर्वार्ता प्राविधिक कारणले गर्दा हाललाई स्थगित गरिएको व्यहोरा अनुरोध छ । सो सम्बधन्मा अन्तवार्ता नयाँ मिति र समय अर्को सूचना प्रकाशिन गरी जानकारी गराइन्छ,’ मेसु डा.झाले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।
अस्पतालले एमबीबीएस वा सो सरहको उपाधि प्राप्त गरेका फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्ट नियुक्तिको तयारी गरेको थियो । आठौं तहका मेडिकल अधिकृतलाई अन्तरर्वार्ताका भरमा मात्रै नियुक्ति दिन खोजिनुले चलखेल भएकोमा अहिले नियुक्ति प्रक्रिया स्थगित गरिएको भएपनि चलखेलको संभावना अझै रहेको एक चिकित्सकले बताए ।
अस्पताल विकास समितिका अध्यक्ष डा.सिलवाल, मेडिकल सुपरिटेन्डेन्ट डा. झालगायतको स्वार्थ अनुसार अस्पताल एकपछि अर्को विवादमा फस्दै आएको छ । तीन जना मेडिकल अधिकृत नियुक्तको सूचना प्रकाशित गर्दा सम्बन्धित विभागीय प्रमुखलाई जानकारीसमेत दिइएको थिएन ।
कर्मचारी यूनियनले चलखेल गरी चिकित्सक नियुक्ति प्रक्रिया बिहीबार साँझसम्म नसच्याए आन्दोलनमा उत्रिने चेतवनी दिएको थियो । अध्यक्ष सिलवालले अहिले नियुक्ति प्रक्रिया स्थगित गरेको जानकारी दिँदै अब अघिल्लो विकास समितिले नियुक्ति गरेको चिकित्सकको पनि छानविन गरिने चेतावनी दिएका छन् ।
‘यसअघि विकास समितिले गरेको नियुक्ति प्रक्रियाको छानविन गरेर अब हामी अगाडि बढनेछौं,’ उनले भने, ‘त्यसपछि मापदण्ड पुरा भएकालाई हामी राख्नेछौं । पूरा नभएकोको करार थप हुनेछैन ।’