कोशी अस्पतालमा बेथितिको चाङ :सुधार गर्न कर्मचारीको माग

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको बेथितिविरुद्ध अस्पतालकै कर्मचारीहरु उभिएका छन् । अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेण्डेन्टको मिलेमतोमा गैरकानुनी रुपमा कर्मचारी नियुक्तिको तयारी भएको र अस्पताललाई क्षति पुग्ने काम भएको भन्दै कर्मचारी युनियनले आपत्ती जनाएको हो ।

कोशी अस्पताल कर्मचारी यूनियनका अध्यक्ष डा.रोशन खड्काले १७ बुँदे मागसहितको ज्ञापनपत्र अस्पताल विकास समिति अध्यक्षका डा. फरवर्ड सिलवाल र मेसु डा.चन्द्रभाल झालाई बुझाएको जानकारी दिए । अस्पताल विकास समितिले मनपरी मापदण्ड तयार पारी आफूनिकटका व्यक्तिलाई नियुक्त गर्न लागेको प्रक्रिया तत्काल सच्याउनुपर्ने माग गरेको उनको भनाइ छ ।

अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्डविपरित रहेकोले सच्याउनु पर्ने कर्मचारी युनियनको माग छ । कर्मचारी भर्नाको लागि ४ माघमा जारी गरेको सूचनाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल गिराएको आरोप युनियनले लगाएको छ । यस्तै पछिल्लो पटक थप ३ चिकित्सक नियुक्तिको सूचना आह्वान गर्दा विभागीय प्रमुखसँग सल्लाहसमेत नगरिएको युनियनले जनाएको छ ।

विकास समितिको निर्णयबिना नै अस्पतालले फागुन ४ गतेको मिति राखेर ७ दिने सूचना सार्वजनिक गरेको छ । रिक्त दरबन्दीमा आठौं तहका चिकित्सक नियुक्त गर्ने भनेर दरखास्त आह्वान गरिएपनि त्यसमा चलखेल रहेको आरोप छ । अन्तरर्वार्ताको भरमा मात्रै चिकित्सक नियुक्तिका लागि सूचना जारी गरेर चलखेल गरिएको हो ।

अस्पतालले फरेन्सिक विज्ञ, जनरल सर्जन र माइक्रोबायोलोजिस्ट नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । आठौं तहका मेडिकल अधिकृतलाई अन्तरर्वार्ताका भरमा मात्रै नियुक्ति दिन खोजिनुले चलखेल रहेको स्पष्ट हुने कर्मचारीहरु बताउँछन् । तीन चिकित्सक नियुक्तिको तयारीबारे अस्पताल विकास समितिका सदस्य मात्र नभएर अस्पताललको सर्जरी विभागका प्रमुख डा.रवि बस्ताकोटी पनि बेखबर छन् । नयाँ जनरल सर्जन नियुक्तिको विषयमा आफूलाई थाहा नभएको डा.बस्ताकोटीले बताए ।

कर्मचारी युनियनले यसअघि कार्यरत ज्यालादारीका चिकित्सक तथा अन्य प्राविधिक कर्मचारीहरुलाई सूचनाले समेट्न नसक्ने बताउँदै युनियनले कार्यरतहरुको व्यवस्थापनमा जोड दिएको छ । यस्तै कर्मचारी भर्ना सम्बन्धि सूचनामा छनौट प्रक्रियामा एकरुपता नदेखिएको भन्दै सच्याउनसमेत माग गरेको छ । यस्तै बन्द भएको एनआइसियू सेवा पूर्ण रुपमा तत्काल संचालन गर्न, अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य विमा गर्न, अस्पताल विकास समितिको बैठकमा कर्मचारी युनियनको अध्यक्षलाई सहभागी गराउन पनि युनियनले माग गरेको छ ।

यसअघि पनि अस्पताल विकास समितिले विनासूचना कर्मचारी नियुक्त गरेको थियो । अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालले खुल्ला प्रतिस्पर्धा गराउँदा चलखेल हुने भएकोले सुटुक्क नियुक्त गर्नुपरेको बताउँदै आएका छन् ।

अस्पतालले यसअघि माघ ४ गते २१ दिनको म्याद दिँदै आठौं तहको १० जना मेडिकल अधिकृत, सातौं तहको १ जना नर्सिङ अधिकृत, पाँचौं तहको ३० जना स्टाफ नर्स, २ जना बायोमेडिकल टेक्निसियन र ७ जना फार्मेसी सहायक गरेर ५० जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । मेडिकल अधिकृतमा ५८, नर्सिङ अधिकृतमा ४३, स्टाफ नर्समा ३ सय ९६, बायोमेडिकल टेक्निसियनमा ७ र फार्मेसी सहायकमा १ सय ४९ जनाको दरखास्त परेको छ ।

त्यो सूचनामा आठौं तहको मेडिकल अधिकृत, पाँचौं तहको स्टाफ नर्स एवं पाँचौं तहको फार्मेसी सहायकमा लिखित र अन्तरर्वार्ता दुबै लिने व्यवस्था गरिएको छ । तर, सातौं तहको नर्सिङ अधिकृत र पाँचौंको बायोमेडिकल टेक्निसियन भने अन्तर्वार्ता मात्र लिएर नियुक्ति गर्ने अस्पतालको सूचनामा उल्लेख छ । अघिल्लो सूचनामा आठौं तहको मेडिकल अधिकृतको लिखित र अन्तरवार्ता दुबै गर्ने भनिएकोमा पछिल्लो सूचनामा तीन मेडिकल अधिकृतको माग गर्दा भने अन्तर्वार्ता मात्र लिने भनिएको छ ।

पाँचौं तहलाई लिखित र अन्तर्वार्ता दुवै लिने गरी दरखास्त आह्वान गरिँदा त्योभन्दा माथिको सातौं र आठौं तहलाई अन्तर्वार्ता मात्रै लिएर नियुक्ति दिने प्रयासलाई चलखेलको रुपमा हेरिएको छ । अलग–अलग मापदण्ड बनाएर विभेदपूर्ण तरिकाले कर्मचारी भर्नाको विज्ञापन गरिएपछि जिल्ला प्रशासन कार्यालय मोरङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन एवं अनुसन्धान सुरु गरिएको जनाएका थिए ।

माघ ४ गतेको सूचनामा मेडिकल अधिकृत नियुक्तिको लागि २१ दिनको म्याद दिएर दरखास्त आह्वान गरिएकोमा फागुन ४ गतेको सूचनामा भने सोहि पदको लागि ७ दिनको मात्रै अबधि दिइएको छ । कर्मचारी भर्ना गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई नै लुकाएर ‘सेटिङ’मा कर्मचारी भर्नाको तयारी भएको हो ।

अस्पतालका मेसु झा भने करारमा नियुक्तिका लागि लिखित परीक्षा लिइरहन नपर्ने दाबी गर्छन् । यसअघिको विज्ञापनमा धेरैको दरखास्त पर्ने भएकाले लिखित र अन्तर्वार्ता दुवै लिने भनिएको भन्दै उनले अहिले धेरैको दरखास्त नपर्ने भएकोले अन्तवार्ता मात्र लिन खोजेको उनको भनाइ छ ।

बुधबार, ०९ फागुन, २०८०, दिउँसोको ०१:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर