सम्पादकीय
कसैलाई बोक्सा वा बोक्सीको आरोप लगाउनु, सताउनु, अपहेलना वा बहिष्कार गर्नु, आक्रमण गर्नु, सामाजिक बेइज्जती गर्नु ‘जघन्य अपराध’ हो । कसैलाई बोक्सीबोक्सा भन्न र आरोप लगाउन पाइँदैन । बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ मा बोक्सीको आरोप लगाउनेलाई कैद र जरिवाना दुवै सजाय तोकिएको छ । बोक्सीको आरोप लगाएको अवस्था हेरेर सजाय र जरिवानाको छुट्टाछुट्टै व्यवस्था गरिएको छ । यस्तो कसुर गर्नेलाई ५ वर्षदेखि ८ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैंयाँसम्म जरिवाना व्यवस्था छ । बोक्सीको आरोपमा कुनै व्यक्तिलाई कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने, यातना दिने, कुनै किसिमले क्रुर अमानवीय वा अपमानजनक व्यवहार गर्नेलाई सजायको व्यवस्था छ । तर, बोक्सी वा बोक्साको आरोपमा खासगरी गरिब, निमुखा र दलितहरुमाथिको ज्यादती अझै रोकिएको छैन । महिलामाथि बोक्सी आरोपमा कुटपिट, मलमूत्र खुवाउने, मार्नेसम्मका घटना अझै भइरहेका छन् । मोरङको बुढिगंगामा भएको पछिल्लो घटनाले बोक्सीको आरोपमा महिलामाथि हुने ज्यादती नरोकिएको देखाएको छ ।
बोक्सीको आरोप लगाउँदै गत साता ५५ वर्षीया महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाउने अमानवीय कार्य भयो । बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाएर कुटपिट गर्दै यातना दिने बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीया पारो माझीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएकी उनले आफ्नो घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको भन्दै चोरी गरेको आरोपमा छिमेकी महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेर यातना दिई मलमूत्र खुवाएको पाइएको छ । जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले बताएकी छन् । पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको याचना गरेपनि उनलाई अमानवीय ज्यादती भएको देखिएको छ ।
धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ छ । निजमाथि कडाभन्दा कडा कार्वाही हुनुपर्छ । समाजमा अझै पनि अन्धविश्वास, कथित धामी झाक्रीमाथिको भरोसा तथा गरिव तथा विपन्न नागरिकमाथिको विभेदनको नमुना बोक्सा वा बोक्सीको आरोप हो । कथित उच्च जाति, सम्पन्न परिवार र पहुचवालाले यस्तो आरोप कहिल्यै खेप्नुपर्दैन । समाजमा गरिबी, विपन्नता र अन्य कारणले अपहेलित भएकाहरुले नै यस्तो आरोपमा अपमान र दुब्र्यवहार खेप्दै आएका छन् । समाजमा रहेको यो कुरिती हटाउन यसअघि सर्वोच्च अदालतले बोक्सा बोक्सीविरुद्ध पाठ्यक्रम बनाएर लागू गर्न आदेश दिएको थियो । सचेतनाको लागि बोक्साबोक्सीविरुद्ध उपयुक्त पाठ्यक्रम बनाएर समावेश गर्न शिक्षा मन्त्रालयलाई अदालतले आदेश दिएको थियो । यद्यपी त्यो पूर्ण रुपमा लागू भएको छैन । सचेतनाको विस्तार हुन अझै सकेको छैन ।
बोक्सा वा बोक्सीको आरोपमा अमानवीय यातना दिनेदेखि हत्या गर्नेसम्मका घटना विगतमा भएका छन् । ७ वर्षअघि चितवनको बघौडामा बोक्सी आरोपमा एकल महिला ढेगनीदेवी महतोको हत्या नै भएको थियो । बोक्साबोक्सी र भूतप्रेत हुँदैनन् तथा धामीझाँक्रीको बलले कुनै रोग वा क्षतिलाई ठीक पार्न सकिँदैन भन्ने सचेतनाको विस्तारको खाँचो एकातिर छ भने यस्तो आरोपमा अमानवीय हर्कत गर्नेलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्छ । अन्धविश्वास फैलाउने र मान्छेलाई अत्यन्तै निच व्यवहार गर्नेलाई अहिलेको कानुनले तोकेको सजाय पनि कम छ । त्यसैले कानुनमा नै थप सजायको व्यवस्था गर्नुपर्छ । बोक्सी प्रथाविरुद्ध मात्र नभई विनाकारण अन्य मानिसलाई दोषी देखाउने र अपमान गर्ने धामी झाँक्री प्रथा विरुद्धसमेत कानुनी व्यवस्था हुनुपर्ने खाँचो देखिएको छ ।