जीवन विकासलाई पुरस्कार

विराटनगर । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा मोरङमा मुख्य कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकासतर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

सम्मेलनमा मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले संस्थागत उद्यमशीलता विकास उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

सम्मेलनमा जीवन विकास लघुवित्त संस्था, लघुवित्तका कर्मचारी र सदस्यले मात्रै विभिन्न दश विधामा उत्कृष्ट हुँदै पुरस्कार पाएका छन् । संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित भएको जीवन विकास लघुवित्त अति विपन्नको उत्थान गर्ने उत्कृष्ट संस्था पनि बन्यो ।

जीवन विकासले थ्रि जिरो (शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन) क्लब प्रवद्र्धनतर्फ पनि उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । जीवन विकास लघुवित्तकी सदस्य जहदा गाउँपालिका–४ मोरङकी किरणदेवी कोइरी उत्कृष्ट र उदाहरणीय कृषि कार्य गरे वापत पुरस्कृत भएकी छन् ।

उत्कृष्ट उद्यमी पुरस्कार जीवन विकासकी सदस्य नसिमा खातुनले प्राप्त गरिन् । विराटनगरकी खातुनले श्रीमान र छोरालाई उद्यमी बनाएकी छन् ।अति विपन्नको उत्थान गर्ने उत्कृष्ट सहयोगी कर्मचारी पुरस्कार जीवन विकास लघुवित्त नदीताल सर्लाही शाखामा कार्यरत वरिष्ठ सहायक सन्तोषकुमार मण्डलले प्राप्त गरे । उद्यमशीलता विकासमा उत्कृष्ट र उदाहरणीय कार्य गरे वापत जीवन विकास लघुवित्त अमाहीवेल्हामा कार्यरत वरिष्ठ सहायक अन्तोषकुमार साहले पनि पुरस्कार प्राप्त गरेका छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाकी सदस्य गुलशन खातुनले उत्कृष्ट केन्द्र प्रमुखको पुरस्कार प्राप्त गरिन् । दुई दिनसम्म चलेको सम्मेलनमा ८०० महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरेको सम्मेलनले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने संकल्पसहित १२ बुँदे घोषणा पत्र जारी गरेको छ ।

मङ्गलबार, ०८ फागुन, २०८०, बिहानको ०८:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर