विराटनगर । प्रसूती गराउन शल्यक्रिया कक्षमा लगिएकी एक महिलालाई उदयपुर भएकै कारण बाहिर निकालेको र हात भाँचिएर उपचारका लागि आएका उदयपुरका एक पुरुषलाई उपचार नगर्ने नोबेलको बचाउमा नेपाल चिकित्सक संघ कोशीले विज्ञप्ति प्रकाशित गरेको छ ।
विराटनगरस्थित नोबेल अस्पताल, विराटनगर अस्पताल तथा अन्य केही अस्पतालहरुले सामान्य रुघाखोकी तथा प्रसूती गराउन आएका बिरामीलाई उपचार गराउनुको साटो फिर्ता पठाएको समाचार विभिन्न सञ्चारमाध्याममा प्रकाशित भएका थिए ।
उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै चिकित्सक संघले नोबेल अस्पतालको नाम उल्लेख नगरी बचाउ गरेको छ । ‘विगत केही दिनदेखि विभिन्न संचारमाध्यममा अस्पतालहरुले उदयपुर जिल्लाबाट आएका विरामीहरु लाई अन्यत्र रेफर गरेका समाचारमा विरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थप उपचारका लागि गरिने नियमित रेफर प्रक्रियालाई समेत गलत ढंगले व्याख्या गरि प्रशासरण भएको समाचार सम्बन्धमा यस नेपाल चिकित्सक संघ, कोशी शाखाको ध्यानाकर्षण भएको छ,’ नेपाल चिकित्सक संघ कोशी अञ्चल अध्यक्ष डा. फरर्वाड सिलवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कोभिड–१९ को संक्रमणलाई मुलुकमा फैलिन नदिन आफ्नो ज्यानको बाजी लाएर हाल चिकित्सकहरु पहिलो घेरामा रहेर काम गरिरहेको र चिकित्सकीय धर्म निभाउँदै विरामीको उपचारमा अहोरात्र खटिने चिकित्सकको मनोबल कम हुने गरि हुने गतिविधि हुन नदिन नेपाल सरकारको समेत ध्यानाकर्षण गराउँदछौ ।’
चिकित्सक संघले कोरोना प्रभावित क्षेत्रबाट उपचारका लागि आएका बिरामीलाई स्वाब टेष्ट नगरी अन्य उपचार प्रक्रिया नअपनाउनु भन्ने विश्व स्वास्थ्य संगठनद्वारा प्रोटोकल कायम गरेको भन्दै सोही अनुसार बिरामीको स्वाब टेष्टका लागि कोशी अस्पताल पठाइएको उल्लेख गरेको छ ।
‘विश्व स्वास्थ्य संगठनद्वारा जारी गरिएको प्रोटोकलमा उल्लेख भएअनुसार धेरै संक्रमित भेटिएका संक्रमणको जोखिम युक्त क्षेत्रबाट आएका विरामीलाई उपचार गर्नु पूर्व विरामी को पिसिआर टेष्ट गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले गर्दा अहिले संक्रमित क्षेत्रबाट आएका विरामीहरु लाई उपचार गर्नुअघि पिसिआर परीक्षण गर्नुपर्ने भएको र निजी अस्पतालमा पिसिआर परीक्षण उपलब्ध नभएको र प्रदेश १ को हकमा पिसिआर परीक्षणको व्यवस्था कोशी अस्पताल र विपि कोईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा मात्र रहेकोले धेरै संख्यामा संक्रमित भेटिएका क्षेत्रका बिरामीलाई यी दुई स्वास्थ्य केन्द्रमा रेफर गर्नु पर्ने बाध्यता भएको कुरा सबैमा जानकारी गराईन्छ ।’ चिकित्सक संघले निजी अस्पताललाई पनि पिसिआर परीक्षणका लागि सहजता हुने गरी व्यवस्था गर्न नेपाल सरकारस“ग माग गरेको छ ।
नोबेल अस्पतालले शुक्रबार हात भाँचिएर अप्रेशनका लागि भर्ना भएका उदयपुरका भीमबहादुर खत्रीलाई पनि अप्रेशन थिएटरबाटै निकालेको थियो भने गत बुधबार प्रसुति गराउन शल्यक्रिया कक्षमा लगिएकी सरस्वती रौनियारलाई पनि उदयपुर घर भएकै कारण देखाएर नोबेलले बाहिर निकाल्दै कोशी अस्पतालमा रेफर गरेको थियो । नोबेलको उक्त कार्यप्रति नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको भन्दै घटनाको छानविन गर्ने जनाएको थियो ।
यसअघि नोबेलले मोरङको पथरीकी एक बृद्धालाई खोकेको भन्दै अपरेशन थिएटरबाट निकालेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो ।
विराटनगरका कुनै पनि अस्पतालले भर्ना लिन नमानेकै कारण समयमा उपचार नपाएर बिहीबार सुनसरीको देवानगञ्ज १ का २७ वर्षीय रविन्द्र यादवको मृत्यु भएको थियो ।