माथिल्लो अरुण (१०६३) निर्माणको परामर्शदाता छनौट

विराटनगर । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणको लागि परामर्शदाता छनौट भएको छ ।

ओयोजनाको निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टिएमएस) तथा जेड कन्सल्ट, नेपाल छनौट भएको हो ।

आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड र परामर्शदाताबीच ठेक्का सम्झौतासमेत भएको छ । निर्माण सुपरिवेक्षण परामर्श सेवाका लागि २ करोड ३४ लाख युरो, ४ लाख ४५ हजार अमेरिकी डलर र ६४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

परामर्श सेवाको रकम युरो, डलर र रुपैयाँ गरी तीन वटा मुद्रामा भुक्तानी हुने व्यवस्था छ । परामर्श सेवाको अवधि ११७ महिनाको हुनेछ । ठेक्का सम्झौता बमोजिम परामर्शदाताले पहिलो चरण अन्तर्गत डिजाइन पुनरावलोकन तथा बोलपत्र सम्बन्धी कागजातहरु तयारी गर्नेछ । यसका लागि २१ महिना छुट्याइएको छ ।

दोस्रो चरणमा आयोजनाको निर्माण कार्यको सुपरीवेक्षण गर्नेछ । यसका लागि ७२ महिना राखिएको छ । तेस्रो चरणमा आयोजना सञ्चालन तथा मर्मतसम्भारका लागि परामर्श सेवा उपलब्ध गराउने छ । यसका लागि २४ महिना छुट्याइएको छ ।

ठेक्का सम्झौताका लागि गरिएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले घोषणा गरेको रुपान्तरणकारी आयोजना निर्माणको सुरपरीवेक्षण गर्न परामर्शदाता नियुक्त भएकाले एउटा महत्वपूर्ण चरण पार भएको बताए ।पहिलो चरणअन्तर्गत ९ महिनाभित्रमा आयोजनाका मुख्य संरचना निर्माणका लागि ठेकेदार छनौट गर्न बोलपत्र सम्बन्धी कागजात तयार गर्नु अत्यन्तै महत्वपूर्ण कार्य भएको उनले बताए ।

आयोजना नेपाल सरकार, प्रदेश सरकार, प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लाबासी, सर्वसाधारण, अन्तर्राष्ट्रिय विकास साझेदारको सहुलितपूर्ण ऋण र बैक तथा वित्तीय संस्थाको ऋण लगानीमा निर्माण गर्ने तयारी छ । विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट आगामी जुनभित्रमा वित्तीय व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको घिसिङले बताए ।

आगामी वैशाखमा हुने लगानी सम्मेलनमा आयोजनाको लागि विश्वबैंकको अगुवाइमा अन्तर्राष्टिय वित्तीय संस्थाहरुले १ अर्बदेखि १ अर्ब २० करोड डलरसम्म लगानी ढाँचा सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ । निर्माण अवधिको ब्याज र मूल्यवृद्धिसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) रुपैयाँ निर्माण हुने आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी जुटाइने छ ।

आयोजनामा एचआइडिसिएलको नेतृत्वमा ५३ अर्ब अर्ब स्वदेशी बैंक तथा वित्तीय स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारी भइसकेको छ । इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवद्र्धकबाट र ४९ प्रतिशत सर्वसाधारणबाट जुटाइने छ ।

सन् २०२६ को सुरुवातबाट निर्माण सुरु गर्ने र २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको पूर्वतयारीमध्ये २ किलोमिटर सुरुङ मार्गसहित करिब २१ किलोमिटर प्रवेश सडक निर्माण सुरु भएको छ भने आयोजनास्थलमा कार्यालय तथा आवास निर्माण भइरहेको छ ।

आयोजनालाई आवश्यक पर्ने २३२.१४ हेक्टर निजी जग्गा प्राप्ति भइसकेको छ । आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहने अध्ययनले देखाएको छ ।

आयोजनालाई विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्ण क्षमतामा चलाउने गरी डिजाइन गरिएको छ । आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । त्यसमध्ये करिब ३० प्रतिशत ऊर्जा हिउँदमा उत्पादन हुनेछ ।

उत्पादित विद्युतलाई करिब ६ किलोमिटर ४०० केभीको प्रसारण लाइनमार्फत संखुवासभाको हाइटारमा प्रस्तावित सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

बिहिबार, ०३ फागुन, २०८०, दिउँसोको ०४:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर