सम्पादकीय
सुनसरी प्रहरीले आइतबार ठूलो परिमाणमा नक्कली नेपाली नोट बरामद गरेको छ । प्रहरीले एकैपटक १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोट बरामद गरेपछि नक्कली नेपाली नोटको कारोबारमा ठूलो गिरोह संलग्न रहेको अनुमान सहजै गर्न सकिन्छ । बैंकको ट्याग लगाएका नक्कली नोट भएको भएको घटनाले बजारमा पनि नक्कली नोट पुगेको अनुमान गर्न सकिन्छ । सामान्य मानिसले पहिचान गर्न नसक्नेगरि बनाइएका यस्ता नक्कली नोटहरु बजारसम्म पुगेको भए त्यसले ठूलो वित्तीय अपराधको रुप लिने पक्का छ । प्रहरीले यो प्रकरणमा अनुसन्धानको दायरा फराकिलो बनाएको बताएको छ । प्रहरीले नक्कली नोटसहित भारतको बिहार राज्य सुपौल जिल्ला बीरपुर बस्ने एक युवालाई पक्राउ परेको छ । तर, नोट बरामद गर्दा एक व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले गत असोजमा सुनसरीकै इटहरीबाट १४ लाख रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । यस्तै गत वर्षको भदौमा झापाको विर्तामोडबाट ९ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको थियो । प्रहरीले गत वर्षको असोजमा सुनसरीको देवानगञ्ज ४ बाट ६ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो भने गत वैशाखमा हजार दरका ६ थान र ५ सय दरका २२ थान नेपाली नक्कली नोट सुनसरीको इटहरीबाट बरामद भएको थियो । एकपछि अर्को नक्कली नोट बरामदको क्रम रहेकोमा एकैपटक ठूलो परिमाणमा नक्कली नोट बरामद भएकोले बजारमा पनि नक्कली नोटको कारोबार भइरहेको आशंका बढेको छ । विगतमा नक्कली नोट बोक्नेहरु पक्राउ परेपछि मुख्य गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । जसले गर्दा झनै ठूलो परिमाणमा नक्कली नोटको कारोबारको प्रयास भइरहेको देखिन्छ ।
गत आइतबार सुनसरीको इनरुवामा बरामद भएको नक्कली नोटको परिमाण अहिलेसम्मकै ठूलो हो । नोटसँगै भारतीय नागरिक पक्राउ परेको र नोट बोकेको गाडी पनि भारतीय रहेकोले नक्कली नोटको कारोबारमा अन्तराष्ट्रिय कनेक्सन रहेको देखिन्छ । नक्कली नोटको कारोबार विगत ५ वर्षयता जारी रहेको भएपनि प्रहरीले मुख्य जरोसम्म पुग्ने सफलता पाएको छैन । ठूलो वित्तीय अपराध र जोखिम निम्त्याउने यो प्रकरणम सुनसरी प्रहरीले मात्र नभएर प्रदेश प्रहरी र सिआईबीसमेतको सहयोग लिएर गम्भीर अनुसन्धान गर्नुपर्ने खाँचो छ । नक्कली नोट बरामद भएको गाडी एक दिनको प्रवेश अनुमति लिएर भारतबाट नेपाल पसेको फेला परेको छ । खुलेआम गाडीमा त्यति ठूलो परिमाणको नोट सिमाबाट कटेर आउन कसरी संभव भयो भन्ने विषयमा पनि गहिनो अनुसन्धानको खाँचो छ । यसले हाम्रो सीमा सुरक्षा चेकजाँचमाथि पनि प्रश्न खडा गरेको छ । नक्कली नोटको कारोबारीबारे विगतदेखि अनुसन्धान गरिरहेको प्रहरीले बताउँदै आएको छ । अब पनि प्रहरीले अनुसन्धान गरेर नक्कली नोट कारोबारीको जरोसम्म नपुगे प्रहरीकै विश्वसनियतामा प्रश्न उठ्ने देखिन्छ ।