सप्तकोशी विकास बैंकसहित वित्तीय संस्थालाई राष्ट्रबैंकको कार्वाही

विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोशी विकास बैंकसहितका विभिन्न छ वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ ।

तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई राष्ट्रबैंकले कानुन विपरित काम गरेको भन्दै सचेत गराउने र जरिवाना गराउनेसम्मको कार्वाही गरेको हो ।

सप्तकोशी विकास बैंकको सञ्चालक समिति र सीईओलाई राष्ट्रबैंकले सचेत गराएको छ । संस्थाको स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भएपछि पुनः स्वतन्त्र सञ्चालककै हैसियतमा सञ्चालक समिति बैठकमा निरन्तर उपस्थित गराई निर्णय प्रक्रियामा सहभागी गराएकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सप्तकोशीका सीईओले कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । दोस्रो कार्यकालका लागि समेत स्वतन्त्र सञ्चालकको रुपमा पुनः नियुक्त गरेको पाइएकोले त्यस किसिमको कार्य नगर्न संस्थाको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराएको हो ।

बैंकले जारी गरेको आधार दर गणना सम्बन्धी कार्यविधि, २०६९ बमोजिम गणना गर्नुपर्ने कर्जाको आधार दरलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतले बैंकको निर्देशन विपरित आफ्नो तजविजले एकै महिनामा पटक–पटक कोर बैंकिङ सिस्टममै गई आधार दर परिवर्तन गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ । उक्त कार्यबाट कर्जाको आधार दर सम्बन्धी यस बैंकका पेश हुँदै आएको विवरण समेत यथार्थ नभएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड क बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराई त्यस्तो कार्य तत्काल बन्द गर्न निर्देशन केन्द्रीय बैंकले दिएको हो ।

वित्तीय अनुशासन कमजोर रहेको सप्तकोशी बैंकको ठूलो रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन सिइओ नविन सुवेदीसहितका कर्मचारी जेलमा छन् ।

राष्ट्रबैंकले मुक्तिनाथ विकास बैंक सञ्चालक समिति अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ । मुक्तिनाथले व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम अन्य उद्देश्यमा खर्च गरेको पाइएको र उक्त रकम पछि फिर्ता गरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै नारायणी डेभलपमेन्ट बैंकले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा १२ हजार ८ सय ४६ रुपैयाँ जरिवाना गराइएको छ । बैंकले साउन र भदौमा सीडी रेसियो ९० प्रतिशत बढी गराएकाले थप २ लाख ४२ हजार जरिवाना गरिएको हो ।

त्यसैगरी प्रोग्रेसिभ फाइनान्सले चलनचल्तीमा नरहेको धितो मूल्यांकन प्रक्रिया अपनाइ जोखिमपूर्ण कर्जा दिएको पाइएकाले सचेत गराइएको छ ।
गुडविल फाइनान्सले कर्जा प्रवाह गर्दा परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकम सुदपयोगिता सुनिश्चित नगरी महर्जन बिजनेस एसोसिएट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएकाले सञ्चालक समिति र कार्यकारी प्रमुखलाई उपयुक्त निर्देशन दिइएको राष्ट्रबैंकले जनाएको छ ।

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले गत आर्थिक वर्ष २०७९–८० मा तोकिएको सीमाभन्दा अधिक हुने गरी लगानीमा रहेको सेयर बिक्री गरी राष्ट्र बैंकको नियामकीय व्यवस्था उल्लंघन गरेको पाइएकोले सीईओलाई सेचत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

बुधबार, ०२ फागुन, २०८०, दिउँसोको ०२:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर