विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कर्मचारीको मानमर्दन हुनेगरि दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै कोशी प्रदेशमा क्रियाशील कर्मचारीका सङ्गठनहरूले क्षमायाचना गर्न आग्रह गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, एकीकृत सरकारी कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कोशी प्रदेश समितिले मुख्यमन्त्री कार्कीको अभिव्यक्तिप्रति आपत्ति जनाका हुन् ।
मुख्यमन्त्री कार्कीले केहि दिन अगाडि मोरङको सुन्दरहरैंचास्थित साजिलाल माध्यमिक विद्यालयका वार्षिकोत्सव कार्यक्रममा विद्यालयको अन्तिम बेञ्चमा बस्ने आफू मुख्यमन्त्री भएपनि पहिलो बेञ्चमा बस्ने खरदार भएर भुँडी भर्न मात्र जानेको बताएका थिए । ‘म क्लासमा बस्ने लास्ट बेन्चकै मान्छे हो, फर्स्टमा बस्नेले त केबल लेख्न पढ्न मात्रै जान्यो, कसरी लोकसेवा पास गर्ने र भुँडी भर्न मात्रै जान्यो’, उनले भनेका थिए, ‘ऊ अहिले खरदार छ, म अहिले मुख्यमन्त्री छु ।’
मुख्यमन्त्री कार्कीले विद्यालय जस्तो पवित्र स्थानमा भविष्यका कर्णधार विद्यार्थीलाई राष्ट्र सेवामा उत्प्रेरणा गर्नुको सट्टा उल्टै बेरोजगार एवं प्रतिभा पलायन बनाउने मनसायको साथ अभिव्यक्ति दिएको कर्मचारी संगठनहरुले जनाएका छन् । आम कर्मचारीहरूको योग्यता र क्षमताको मानमर्दन हुनेगरी व्यक्त अभिव्यक्तिप्रति मुख्यमन्त्री कार्कीको उनीहरुले निन्दा गरेका छन् ।
‘यस प्रकारको उत्तेजनामा आएर गरिएका अपरिपक्व अभिव्यक्ति फिर्ता लिएर राष्ट्रसेवकहरूको मानमर्दनमा पुगेको चोटप्रति क्षमा याचना गर्न मुख्यमन्त्रीज्यू समक्ष आग्रह गर्दछौँ, विज्ञप्तिमा भनिएको छ, ‘देश र नागरिकको सेवामा खटिने राष्ट्रसेवकहरूको उच्च मनोबल र आत्मसम्मानका साथ सेवा गर्ने वातावरण तयार गर्न जोडदार माग गर्दछौँ ।’ मुख्यमन्त्री कार्कीले उक्त अभिव्यक्तिको खण्डन नगरे आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि कर्मचारी संगठनहरुले दिएका छन् ।
मुख्यमन्त्रीको उक्त अभिव्यक्ति अपरिपक्व, गैरजिम्मेवार र आपत्तिजनक भएको कर्मचारीहरुको भनाइ छ । मुख्यमन्त्रीले दिएको अभिव्यक्तिले समग्र राष्ट्रसेवकहरूलाई दुःखी बनाएको भन्दै विज्ञप्तिमा राष्ट्रसेवकहरूलाई उच्च मनोबल र आत्म सम्मानका साथ सेवा गर्ने वातावरण तयार गर्नसमेत माग गरिएको छ ।
विज्ञप्तिमा नेपाल निजामती कर्मचारी सङ्गठनका प्रदेश अध्यक्ष काशीराज पराजुली, नेपाल निजामती कर्मचारी युनियनका प्रदेश अध्यक्ष मानबहादुर वन, एकीकृत सरकारी कर्मचारी सङ्गठन प्रदेश अध्यक्ष योगेश्वर खनाल र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती कोशी प्रदेश अध्यक्ष रुद्र सुवेदीले हस्ताक्षर गरेका छन् ।