विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुई जना मन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कार्कीले सरकार विस्तार गरेका हुन् ।
जसमा स्वास्थ्य मन्त्रालयमा प्रदिपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्रीमा सुनिता कुमारी राम रहेका छन् ।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफ्नै जिम्मामा राखेका छन् । नवनियुक्त मन्त्रीहरु सुनुवार, खत्री, राज्यमन्त्रीद्वय थापा र राम काँग्रेस हुन् ।
उनीहरुमध्ये सुनुवार मात्रै काँग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीन जना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसदमध्येकै हुन् ।
यस्तै माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन् । बरियतामा मुख्यमन्त्रीपछि प्रदिपकुमार सुनुवार, राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमल प्रसाद जबेगू, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ (राम) रहेका छन् । गुरुङ दलित कोटाबाट समानुपातिक सांसद बनेकी हुन् ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख पर्शुराम खापुङबाट र राज्यमन्त्रीहरुले मुख्यमन्त्रीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।