काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्समार्फत ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २५.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यसबीच पर्यटकबाट भएको आम्दानी ४४.४ प्रतिशतले बढेर ३९ अर्ब ५५ करोड रूपैयाँ आम्दानी भएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७ हजार ९ सय ७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय ३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७५ हजार ६ सय ४३ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४२ हजार ५ सय ४८ रहेको थियो ।
यो अबधिमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भएको देखिएको छ । चालु आवको ६ महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ५८ अर्ब ९५ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको थियो ।
छ महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम २ खर्ब ७३ अर्बले धेरै भएको छ । मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानीलगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो ।
रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ । यसको अनुपातमा आयातमा भइरहेको कमीले पनि भुक्तानी सन्तुलन देखिएको हो ।
मुलुकको चालु खाता पनि १ खर्ब ६१ अर्ब रूपैयाँ नाफामा देखिएको छ । यसअघिका वर्षमा लगातार घाटामा रहेको चालुखाता चालु आर्थिक वर्षको अन्त्यसम्म नाफामा देखिने सम्भावना रहेको राष्ट्र बैंकले बताएको छ । चालु खाता मुलुकको खुद आम्दानी हो ।
चालु आर्थिक वर्षको ६ महिनामा आयात ३.१ प्रतिशतले घटेर ७ खर्ब ६८ अर्ब रूपैयाँमा सीमित भएको छ ।