विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको लफडाको मारमा कार्यालय सहयोगी परेका छन् । अध्यक्ष राजमति इङ्नाम र उपाध्यक्ष भोला अधिकारीबीच भएको विवादको मारमा निमुखा कर्मचारी परेका हुन् ।
केही दिनअगाडि बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष भोला अधिकारी र पालिकाका प्रवक्ता रहेका २ नम्बर वडाका अध्यक्ष सुशील बुढाथोकीबीच चर्काचर्की परेको थियो । अध्यक्षको कार्यकक्षमा बसेको बैठकमा विवाद बढ्दै जाँदा उपाध्यक्ष अधिकारीले सिसाको टेबुलमा मुड्की बजारेर फुटाएका थिए । उपाध्यक्षले मुड्कीले हानेको टेबल मर्मत गर्दा कार्यालय सहयोगी पदमप्रसाद भट्टराई निलम्बनमा परेका हुन् ।
आफू बाहिर भएको बेला अनुमतिविना आफ्नो कार्यकक्षको ढोका खोलेको भन्दै कार्यालय सहयोगी भट्टराईलाई अध्यक्ष इङ्नामले निलम्बन गरेकी हुन् । निलम्बनको कारण कार्यालय जान नपाएका उनी गुजारामै समस्या आउने तनाबमा छन् । गाउँपालिका स्रोतका अनुसार उपाध्यक्षले फुटाएको सिसा फेर्न अध्यक्ष इङ्नामले मानेकी थिइनन् । उनले कार्यकक्षमा आएका सबैलाई उपाध्यक्षज्यूले फुटाइदिएको सिसा भनेर देखाउने गरेकी थिइन् । अध्यक्ष इङ्नाम तेह्रथुम गएकाे बेला गत बिहीबार उपाध्यक्ष अधिकारीले कार्यालय सहयोगी भट्टराईलाई त्यही सिसा बनाउन निर्देशन दिएर फेर्न लगाएका थिए ।
तेह्रथुमको लालिगुराँस नगरपालिकामा केहि वडाध्यक्षहरूलाई लिएर अध्यक्ष इङ्नाम गएपछि उपाध्यक्ष अधिकारीले टेबलको सिसा फेराएका थिए । अध्यक्षले कार्यकक्षको ताला नखोल्न निर्देशन दिएकोले उनको सचिवालयमा बस्ने कार्यालय सहयोगीले सुरुमा ताला खोल्न मानेका थिएनन् ।
उपाध्यक्षले सिसा फुटाएपछि आफ्नो अनुमतिबिना कार्यकक्ष नखोल्न उनले सचिवालयका कर्मचारीलाई निर्देशन दिएकी थिइन । ‘उपाध्यक्षले भनेपनि नखोल्न भनेर अध्यक्षज्यूले भन्नुभएको थियो,’ कार्यालय सहयोगी भट्टराईले भने ‘तर, उहाँहरू नभएको दिन उपाध्यक्षले अध्यक्षको कोठा खोल्न भन्नुभयो र बाध्य भएर मैले खोलेको हुँ ।’
अध्यक्षले आफ्नो कार्यकक्षमा आउनेलाई उपाध्यक्षले फुटाएको सिसा भनेर प्रचार गरेपछि उपाध्यक्षले मौका छोपेर सिसा फेरेका थिए । सोहि प्रकरणमा आफ्नो अनुमतिविना कार्यकक्षको ढोका खोलेको भन्दै कार्यालय सहयोगी भट्टराईलाई अध्यक्ष इङनामले निलम्बन गरेकी हुन् ।कानेपोखरीमा अध्यक्ष उपाध्यक्षसहित बहुमत वडाध्यक्ष नेकपा एमालेका छन् । एउटै पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिबीच बोलचाल नै बन्द हुने अवस्था रहेको छ । उपाध्यक्ष अधिकारीले भने अध्यक्षसँग सल्लाह नै गरेर सिसा फेर्ने सहमति भएको दावी गर्दै कुनै कर्मचारीलाई कार्वाही नगरिएको दावी गरेका छन् ।
गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले कार्यालय सहयोगीलाई निलम्बन गरेको भएपनि निश्कासन नगरेको बताए । ‘अध्यक्षको निर्देशन नमानेपछि सस्पेन मात्रै गरिएको हो,’ उनले ‘औषधि नखाने छोराछोरीलाई कहिलेकाहिं बाउआमाले झापड पनि हान्नुपर्ने हुन्छ । भएको त्यति मात्रै हो ।’
गाउँपालिकाको सेकेन्डम्यानले आफ्नो अभीष्ट पुरा गर्नका लागि सामान्य कर्मचारीलाई दबाब दिएको आरोप अध्यक्षनिकटका वडाध्यक्षहरूको छ । सूचनाको हकका अभियनता विराटनगरका राजु श्रेष्ठले यस विषयमा सुचना मागेका थिए । तर, गाउपालिकाको कार्यालयले उनलाई दिएको जबाफमा सिसा फुटेको कारण थापा नभएको उल्लेख गरेको छ ।
उपाध्यक्ष अधिकारी सिसा फोरेपछि झन् विवाद बढ्दै गएपछि अध्यक्ष इङनामसँग माफी मागेको स्रोतले जनाएको छ । पालिकाको केन्द्र ५ नम्बर वडामा सार्ने कि ६ नम्बर वडामै राख्ने भन्ने विषयमा विवाद बढ्दा अध्यक्ष र उपाध्यक्षबीच तनाब भएको अन्य जनप्रतिनिधिहरू बताउँछन् । गत वैशाखदेखि पालिकाको केन्द्र सार्ने विषयमा विवाद भएको थियो ।
पालिकाको भवन सार्ने विषय मतदानबाट टुङ्ग्याइएको थियो । बहुमत कार्यपालिका सदस्यले ५ नम्बर वडामा सार्ने निर्णय गरेका थिए । त्यसपछि उपाध्यक्ष अधिकारीले अध्यक्षसँग दुरी बढाएका थिए । उपाध्यक्ष भने वडा नम्बर ६ मै राख्नुपर्ने पक्षमा थिए ।
पोहोर मरिन सासू अहिले आयो आँसु !