विराटनगर । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन मंगलबार पनि बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि उकालो लागिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
मंगलबार नेप्से परिसूचक १४.८८ अंक बढेर २११९.६१ विन्दुमा पुगेको छ । यसदिन सेन्सेटिभ इण्डेक्स ०.६५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक बढेको छ ।
नेप्से निरन्तर उकालो लागेपछि कारोबार रकम पनि बढ्दै गएको छ । यस दिन ३०८ स्टकको १ लाख १७ हजार पटकको कारोबारमा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबार ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
सिनर्जी पावरको ८.७, सिंगटी हाइड्रो इनर्जीको ८.२, ग्रीनलाइफ हाइड्रोपावरको ७.९, विशालबजार कम्पनीको ७.६ र मकरजितुमाया हाइड्रोको ७.४ प्रतिशत मूल्य बढ्यो । यसदिन मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७५ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम करिब २१ करोड पुगेको छ ।
बजारका १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ । कारोबारमा आएको बैंकिङ्ग, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन घटेको हो ।