विपीका उपकुलपति कार्कीलाई मोसो दल्न खोज्ने पक्राउ

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई एक समूहले मोसो दल्ने प्रयास गरेको छ ।

मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि मोसो दल्ने प्रयास भएको हो । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दलिएको मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले जनाएको छ ।

मोसो दल्‍ने संगठनका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् ।

कार्कीमाथि प्रतिष्ठानको कार्यकक्षमै दुर्व्यवहार भएको हो । उपकुलपतिको कार्यकक्षमा भेट्न गएका युवाले मोसो दल्ने प्रयास गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार दिउँसो १ बजेतिर कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गरेका थिए । उनीहरुलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको बताइएको छ ।

शिक्षक तथा कर्मचारीहरूले बढुवा माग गर्दै आन्दोलन गरिरहेको कारण प्रतिष्ठानको सेवा प्रभावित हुँदै आएको छ । कामु उपकुलपति कार्की आफ्नो माग पूरा गराउन बाधक बनेको आरोप शिक्षक र कर्मचारीले लगाउँदै आएका छन् ।

ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा सुरू भएको थियो । आन्दोलनरत शिक्षक चिकित्सकहरूबाहेक प्रोफेसर र जुनियर रेसिडेन्टहरूले ओपिडी सेवा आंशिक रूपमा भएपनि सञ्चालनमा ल्याएका हुन् ।

बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीहरूले सेवा बहिष्कार गरेपछि पुस २९ गतेदेखि नै ओपिडी सेवा र विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको थियो ।

मङ्गलबार, १६ माघ, २०८०, दिउँसोको ०३:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर