सम्पादकीय
सरकारले २० वर्ष भन्दा कम उमेरमा विवाह गर्न रोक लगाउने कानुन बनाएको भएपनि कानुन विपरीत विवाह गर्ने प्रवृत्ति समाजमा व्याप्त छ । कम उमेरमा विवाह गर्दा महिला स्वास्थ्यमा प्रतिकुल असर पर्ने मात्र होइन दम्पतिको सामाजिक र व्यवहारिक जीवन पनि कष्टकर बन्ने सम्भावना बढी हुन्छ । विवाह व्यक्तिको परिपक्व व्यवहारसँग सम्बन्धित हुन्छ । घर व्यवहारसँगै दीगो रुपमा जीवन चलाउने आधार तयार नभइ विवाह गर्दा थुप्रै समस्याहरुसँग व्यक्तिले संघर्ष गर्नुपर्ने हुन्छ । त्यसैले कम उमेरमा विवाह गर्ने र गरिदिने प्रवृत्तिमा कमी ल्याउन सरकार र समुदाय सबै पक्षबाट पहल र प्रयत्न गरिनु पर्छ ।
कम उमेरमा विवाह गर्दा विशेषत महिला स्वास्थ्यमा नकारात्मक असर पुग्छ । कतिपय अवस्थामा महिला र बच्चा दुवैको जीवन खतरामा पर्छ । यसले गर्भवति वा सुत्केरी महिलाको मृत्यु दरसँगै बाल मृत्युदरलाई पनि बढाउँछ ।हाम्रो समाजमा अहिले पनि कम उमेरमा विवाह गर्ने प्रवृत्ति छ । कानुन विपरीत कम उमेरमा विवाह गरेकै कारण थुप्रै किशोरहरु बलात्कारको आरोपमा सुधार गृहमा बसिरहेका छन् । उमेर पुगेका युवाहरुले कम उमेरका किशोरीसँग विवाह गर्दा झुटो बलात्कारको मुद्दामा जेलमै बस्नु पर्ने विडम्बनापूर्ण अवस्था पनि हाम्रोमा छ । यो समस्याले विकराल रुप लिइरहेको छ ।
एकातिर महिला र बाल स्वास्थ्यमा असर परिरहेको छ भने कम उमेरमा विवाह गर्ने प्रवृत्ति नरोकिदाँ अर्कोतिर क्रियाशील युवा जनशक्ति जेलमा बस्न बाध्य हुने अवस्था छ । त्यसैले कानुनले निर्धारण गरेको विवाह गर्ने उमेरका बारेमा जनस्तरमा सचेतना फैलाउन जरुरी छ ।हाम्रोमा कानुन बनाउने तर कानुन बनाउँदा जनस्तरमा व्यापक छलफल नगर्ने प्रवृत्ति छ । कानुन बनाइसकेपछि त्यसका बारेमा जनता वा सरोकारवाला पक्षसँग पर्याप्त छलफल नगर्ने प्रवृत्ति पनि छ । यसले गर्दा नागरिकहरु विद्यमान कानुनका बारेमा अनविज्ञ हुन्छन् । हुन त नागरिक भइसकेपछि देशमा बनेका ऐन, कानुन र नियमका बारेमा जानकारी राख्नु पर्ने कर्तव्य हो । तर हाम्रो जस्तो शिक्षामा पछाडि परेको मुलुक जहाँको समाज पछौटे अवस्थाबाट गुज्रिरहेको छ त्यस्तो ठाउँमा आदर्श समाजको परिभाषा दिएर राज्यसत्ता उम्किन मिल्दैन । विधायिकाबाट बनेको कानुनका बारेमा जानतालाई राम्रो जानकारी दिने, सजग र सचेत गराउने र कानुन बनाउनुको उद्देश्य स्पष्ट पार्दै लक्ष प्राप्त गर्ने तर्फ सरकारले छुट्टै पहल र प्रयत्न गर्न जरुरी छ ।
विद्यामान कानुनमा अभिभावको मन्जुरीले केटा केटीको उमेर १८ वर्ष पूरा भएको हुनु पर्ने र प्रेम विवाहको लागि केटा केटी दुवैको उमेर २० वर्ष पुगेको हुनु पर्ने व्यवस्था छ । विवाह गर्दा गराउदा ढाँटेर, झुक्याएर, गफलतमा पारेर र केटा केटीको इच्छा एवं सहमति विपरीत विवाह गर्न गराउन नहुने र कसैले त्यस्तो गरेमा विवाह बदर हुने व्यवस्था पनि छ । त्यसरी विवाह गराउनेलाई अवस्था हेरी ६ महिनादेखि ३ वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था पनि छ ।
बालबालिका सम्वन्धी ऐनले १६ वर्ष उमेर नपुगेकालाई बालबालिका मानेको छ । कसैले विवाहको नाममा वा अन्य कारणले १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा जर्वजस्ती करणीको गम्भीर अपराध हुने व्यवस्था छ ।त्यसैले सरकारले यस्ता कानुनी व्यवस्थाको बारेमा जनस्तरमा जानकारी दिने, विद्यालय तहमै यसलाई पाठ्यपुस्तकमा समावेश गरी सचेत बनाउने वा सचेतनामूलक कार्यक्रम मार्फत समुदायका बीचमा छलफल अन्तरक्रिया गर्ने आदि काम गर्न आवश्यक छ । त्यसो भएमात्र कम उमेरमा विवाह गर्ने प्रवृत्तिमा कमी आउने छ । अन्यथा यो समस्याले समाजमा झन् नकारात्मक असर पु¥याउन सक्ने देखिन्छ ।
बालविवाह गर्नु गराउनु बाल अधिकार, महिला अधिकार, मानव अधिकार र कानूनी शासनको समेत प्रतिकूल हो । बाल विवाहबाट बालबालिकाले पढ्न पाउने, स्वेच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत बञ्चित हुने भएकोले अभिभावक र अरु सबै पक्ष गम्भीर बन्न जरुरी छ ।