विराटनगर । मंगलबार सेयर बजारमा झिनो अंक गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा ०.४० अंक घटेर बजार परिसूचक नेप्से २०९८.२९ अंकमा कायम भएको छ ।
कारोबार सुरु भएको १५ मिनेटमा नेप्से २११२ अंकसम्म पुगेकोमा बजार बन्द हुँदासम्म सामान्य उतारचढाव भएको थियो । मंगलबारसहित लगातार पाँचौ दिन बजार झरेको हो ।
यस दिन कारोबार रकममा भने ३२ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो दिन ६ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब २९ करोडको मात्र कारोबार भयो ।
बजारमा आएका कुल १०३ कम्पनीको मूल्य बढ्दा १३७ को घट्यो भने ८ को स्थिर रह्यो । होटल तथा पर्यटन समूहमा भने चमक देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.७४ प्रतिशत बढ्यो ।
यस दिन बैंकिङ ०.४२, हाइड्रोपावर ०.५८, जीवन बीमा ०.६६, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.१३ र ब्यापार समूह ०.८६ प्रतिशत घटे । अन्य ०.५६, निर्जीवन बीमा ०.७३, लगानी ०.३६, फाइनान्स ०.२८ र विकास बैंक समूह ०.०७ प्रतिशत बढ्यो ।
यस दिन चन्द्रागिरि हिल्स र नेपाल ल्युब आयलको मूल्य १० प्रतिशत बढ्यो । यस्तै तेह्रथुम पावरको ९.८, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.२, दोर्दीखोला जलविद्युत्को ६.९ र सीवाईसी लघुवित्तको ६.३ प्रतिशत मूल्य बढ्यो । मिडसोलु हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.२ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप र सोनापुर मिनरल्स अग्रस्थानमा रहे ।