सम्पादकीय
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा सरकार गठन भएको १०० दिन पूरा भएको छ । काँग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोमबार आफ्नो सय दिनका उपलब्धिको विवरण पनि सार्वजनिक गरेका छन् । आफू नेतृत्वमा आएपछि प्रदेश सरकारले स्थिरता प्राप्त गरेको, मानवीय विकासमा फड्को मारेको र उदाहरणीय काम गर्दै आएको मुख्यमन्त्री कार्कीले दावी गर्दै आएका छन् । तर, उनले नै सार्वजनिक गरेको सय दिने उपलब्धिको विवरणमा भने खासै विषय देखिन्न । कार्कीले प्रदेशसभामा सर्वसम्मत सभामुख चयन हुनु आफ्नो नेतृत्वको सरकारको उपलब्धि भएको दावी गरेका छन् । जबकि सभामुख राप्रपालाई दिनु गठबन्धनको बाध्यता थियो भने, उनी मुख्यमन्त्री हुनुभन्दा अगाडि नै गठबन्धनले त्यो सहमति गरेको थियो । त्यसमाथि विपक्षी दल एमालेले उम्मेदवारी नदिएको कारण सभामुख निर्वाचन सर्वसम्मत भएको हो ।
मुख्यमन्त्रीले घोषणा अनुसार यसबीचमा १० वर्षमुनीका बालबालिकाको चार वटा अस्पतालमा निःशुल्क उपचार गर्ने सम्झौता भएको छ । यो उल्लेखनीय काम हो । यद्यपी यसको कार्यान्वयनमा अझै शंका छ । मुख्यमन्त्री कार्कीले सोमबार नै शैलेजा आचार्य ह्दयरोग उपचार केन्द्रको उद्घाटन गरेका छन् । यसको पनि सञ्चालन, निरन्तरता र उपचार क्षमताबारे आशंका बाँकी छ । त्यसबाहेक गएको तीन महिनामा भएका उपलधिको रुपमा जलन अस्पताल निर्माणको सम्झौतालगायतका विषय समेटिएका छन् । ह्रदयरोग केन्द्रको सोमबार नै उद्घाटन गरिएको छ भने बालबाबलिकाको उपचारको लागि आइतबार सम्झौता भएको थियो । उपचार भने माघ १५ गतेदेखि सुरु हुने बताइएको छ । त्यसबारे सुनसरीको इटहरी ११ पकलीमा जलन अस्पताल निर्माण गर्ने सम्झौता गरेको, पहिचान पक्षधरसँग वार्ताका लागि वार्ता समिति गठन गरेको, प्रदेशको अधिकारका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको, तीन वटा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरेको, रोजगार प्रवद्र्धनका लागि वेबसाइट सञ्चालन गरेको, मोरङको लेटाङ–बुधबारे सडक शिलान्यास गरेको, सवारी चालकको मापसे र लापसे परीक्षणको सुरुवात गरेको तथा विभिन्न जिल्लामा कम्बल वितरण लगायतका विषयलाई उपलब्धिमा समावेश गरेका छन् ।
मुख्यमन्त्री कार्कीले यसअघि सञ्चालनमा रहेका पूर्वाधार विकासतर्फका कतिपय आयोजना सम्पन्न हुनुलाई पनि आफ्नो सय दिने उपलब्धिको सूचीमा राखेका छन् । राप्रपाका ६ सांसद बाहेक प्रदेशसभाका सबै सांसदको विश्वासको मत पाएका कार्कीले कार्तिक १७ गते माओवादीबाट गणेशप्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगूलाई मन्त्री पदमा नियुक्त गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो । सरकार बनेको सय दिन पुरा हुँदा सरकारले अझै पूर्णता पाएको छैन । आर्थिक मामिला तथा योजना मन्त्रालय, स्वास्थ्य मन्त्रालय, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ । कहिले सभामुखको निर्वाचन र कहिले राष्ट्रियसभाको निर्वाचनको बहानामा सरकार विस्तारको काम धकेल्दै आएका मुख्यमन्त्रले सरकार विस्तार बाध्यात्मक नरहेको गैरजिम्मेवार जवाफ दिने गरेका छन् । सरकार विस्तार बाध्यात्मक हैन भने मन्त्रालयको संख्या घटाउनुपर्ने हो । तर, त्यसतर्फ पनि उनले कदम चाल्न सकेका छैनन् ।
खासगरी गठबन्धनभित्रको भागबण्डामा सकस हुनु, आफ्नै दल काँग्रेसभित्र मन्त्री बन्नेहरुको हानथाप हुनु र उचित राय परामर्श लिने काम मुख्यमन्त्रीले नगर्नाले सरकार विस्तार हुन नसकेको दलका नेताहरुले बताउँदै आएका छन् । सरकार विस्तार नभएकै कारण मन्त्रालयहरुले आफ्नो काम प्रभाबकारी रुपमा अगाडि बढाउन नसकेको सचिवहरुले बताउँने गरेका छन् । मन्त्रीको पर्खाइमा मन्त्रालयहरु छन् । ६ महिनामा २१ प्रतिशत मात्र बजेट खर्च हुनु मन्त्रीहरु मन्त्रालयमा नहुनु पनि कारण हो । मुख्यमन्त्री कार्की भने मन्त्री नभएको कारण कुनै काम नरोकिएको दावी गर्दै आएका छन् । मन्त्री नभएकै कारण सबै मन्त्रालयका कार्यक्रममा र गतिबिधिमा मुख्यमन्त्रीको दौडधुप देखिन्छ । त्यसमै उनी रमाइरहेका पाइन्छन् ।
सत्तारुढ गठबन्धनमा भएको सहमति तोडेर काँग्रेसका ८ सांसदसहित एमालेको सहयोगमा कार्की मुख्यमन्त्री बनेका थिए । तर, उनी त्यसमा टिक्न सकेननन् र गठबन्धनकै साथमा आइपुगे । जसले गर्दा उनीसँग एमालेको विश्वास टुटेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बनेकोले अब आफ्नो सरकारलाई कसैले हल्लाउन नसक्ने दावी मुख्यमन्त्रीले गर्दै आएका छन् । त्यहि भएर उनी सार्वजनिक कार्यक्रममा हुँकार र लल्कार प्रदर्शन गर्ने गर्दछन् । उनले गठबन्धनका अन्य दलहरुसँग र आफ्नै दल नेपाली काँग्रेससँग पनि उचित सहकार्य र समन्वय नगरेको देखिन्छ । अरु त अरु आफूलाई मुख्यमन्त्री बनाउन महत्वपूर्ण योगदान गरेका आफ्नै समूहका ८ सांसदसमध्ये शमशेर राईलाई मुख्यमन्त्री बनाएपनि आफूहरुलाई वास्ता नगरेको भन्दै ६ जना काँग्रेसकै सांसद पनि उनीसँग रुष्ट बनेका छन् । यो अवस्थाम मुख्यमन्त्री कार्कीका आगामी दिन असहज बन्ने संकेत बढेको देखिन्छ । १०० दिनमा भएका सकारात्मक सुरुवातलाई निरन्तरता दिएर आफ्ना कमजोरी सच्याएर सबैसँग सहकार्य गर्दै अगानी बढ्नु उनका लागि चुनौति छ ।