धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।
आइतबार प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानमा देखिएको विवाद समाधान गर्न तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएपछि उपकुलपति कार्कीले बैठक बोलाएका हुन् ।
प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक सोमबारै साँझ बस्नेगरि बोलाइएको छ । प्रधानमन्त्री दाहालले निर्देशन दिएसँगै प्रतिष्ठानका कायममुकायम उपकुलपति कार्की आइतबार साँझ नै धरान आएका थिए । उनले आजै बस्नेगरि बैठक बोलाएका हुन् । तर, बैठक कहाँ बस्ने भन्ने खुलाइएको छैन ।
आन्दोलनरत कर्मचारीको वृत्ति विकासको एजेण्डा बैठकमा नराखिए बिरोध हुने डरले बैठकको स्थान गोप्य राखिएको समितिका एक सदस्यले जनाए । कार्की काठमाडौंबाट धरान फर्किएसँगै आन्दोलनरत चिकित्सक र कर्मचारीले प्रतिष्ठान परिसरभित्र कार्कीका लागि तोकिएको निषेधित क्षेत्र हटाएका छन् ।
यसअघि प्रतिष्ठानका कायम मुकायम उपकुलपति डा.कार्कीले गत शुक्रबार काठमाडौंमै कार्यकारी समिति बैठक बोलाएका थिए । तर, त्यसले कुनै निकास नदिएपछि प्रधानमन्त्रीले धरानमै बैठक राख्न निर्देशन दिएका थिए ।