शैलजा आचार्य हृदय रोग केन्द्र उद्घाटनको तयारी

पाँच वर्षभित्र एकै स्थानमा तेस्रो अस्पतालको उद्घाटन गर्दै प्रदेश सरकार

विराटनगर । कोशी प्रदेश सरकारले घोषणा गरेको शैलजा आचार्य हृदयरोग केन्द्रको सोमबार उद्घाटन गर्ने भएको छ ।

साविकको संक्रामक रोग उपचार केन्द्र रहेको स्थानमा हृदय रोग केन्द्र सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको प्रदेश सरकारले जनाएको छ ।

कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइराला र मुख्यमन्त्री केदार कार्कीले संयूक्त रूपमा गर्ने तयारी छ । मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत शैलजा आचार्य हृदय रोग केन्द्र अस्पताल सञ्चालनको घोषणा गरेका थिए ।

अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा।सुधा देवकोटाले बताइन् । केन्द्रमा आएका विरामीको ल्याब परीक्षणको काम प्रदेश जनस्वास्थ्य प्रयोगशालामार्फत गर्ने तयारी गरिएको छ । केन्द्रका आइतबार मुख्यमन्त्रीसहितको टोलीले अनुगमनसमेत गरेको छ ।

नेशनल ट्रेनिङ लिमिटेडको पुरानो गोदाम घरमा २०७६ साल चैत ७ गते प्रदेश निर्देशन समितिको निर्णयअनुसार प्रदेश सरकारले ५० शैयाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बनाएर सञ्चालन गरेको थियो । कोरोना महामारीको बेला करोडौँ रकम खर्च गरेर सो स्थानमा अस्पताल सञ्चालनमा ल्याएको थियो ।

कोभिड नियन्त्रणमा आएपछि प्रदेश सरकारले सो स्थानमा प्रादेशिक प्रसुति तथा स्त्री रोग अस्पताल बनाउने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७८–७९ मा अस्पतालको प्रारम्भिक अध्ययनका लागि १२ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

सरकार परिवर्तन भएपछि सो स्थानमा प्रदेशस्तरीय संक्रमक रोग उपचार केन्द्र बनाउने निर्णय भयो । केन्द्रको गुरुयोजनाका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । २०७९ साल भदौ ३१ गतेको निर्णयबाट असोज २ गते संक्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालनमा आयो ।

संक्रामक रोग उपचार केन्द्र सञ्चालनमा रहेको बेला अहिले शैलैजा आचार्य हृदय रोग केन्द्र बनाइएको हो । केन्द्रका प्रदेश सरकारले ५ करोड ५० लाख बजेट विनियोजन गरेको छ । कोभिड उपचार केन्द्र रहँदा १७५ जनाको दरबन्दी रहेकोमा संक्रामक रोग उपचार केन्द्रमा ४२ जनाको दरबन्दी थियो ।

अब हृदय रोग उपचार केन्द्र स्थापना भएपछि काठमाडौंबाहिरका बिरामीहरूको मुटु रोगको उपचारको ढोका खुलेको सरकारले दावी गरेको छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका हृदय रोगका बिरामीहरूको उपचार संघीय सरकारको एक लाख र प्रदेश सरकारको एक लाख गरी २ लाखले निःशुल्क उपचार हुने बताएका छन् ।

केन्द्रमा सोमबारदेखि ६ जना डाक्टरसहितको सेवा प्रारम्भ हुने बताइएको छ । केन्द्रको ठाउँमा यसअघि पनि विभिन्न नामका अस्पताल बनेर उद्घाटन भएका थिए ।

आइतबार, ०७ माघ, २०८०, दिउँसोको ०२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर