विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १७ र १८ मा अवैध रुपमा रक्सीको उत्पादन गर्ने भट्टीहरु दर्जनौं छन् । ती भट्टीहरुमा मानव जीवनमा प्रत्यक्ष असर पर्ने गुँड, चप्पल, मोजा, सुर्तिजन्य पदार्थ गुल, नसालु गोटी, बच्चालाई बाफ लगाउन प्रयोग गरिने आस्थालिन र सेनिटरी प्याड समेत प्रयोग गरी रक्सी उत्पादन हुने गरेको स्थानीय दाबी गर्छन् ।
यसरी बनाएको अस्वस्थकर रक्सी सेवनबाट विराटनगर १७ र १८ नम्बर वडामा मात्रै पाँच जनाको ज्यान गइसकेको स्थानीय सत्यनारायण शाहको दावी छ । ‘विगत दुई वर्षयता घरेलु रक्सी सेवन गरी अशोक साह, मो. पुल्लु मिया, छोटे दास, मो. संजीव मिया, भुटु मुसहरको मृत्यु भएको हो,’ उनले बताए । रक्सी सेवनबाटै मान्छे मरेको कुनै प्रमाणित आधार भने छैन ।
विराटनगर १८ दागराटोलमा अवैध प्रक्रियाले रक्सी बनाउनेको अखडा नै रहेको स्थानीयको दावी छ । जितेन साह त्यहाँका प्रमुख हुन् । ‘त्यस क्षेत्रमा दैनिक ५ सय लिटर रक्सी दैनिक उत्पादन गरी भारततिर निर्यात हुन्छ,’ शाहले भने ।
घरयासी मदिरा उत्पादक तथा बिक्रीकर्ताहरुमा विराटनगर १८ का अशोक साह, प्रकाश साह, सन्तोष साह, शिबराज साह, जितेन्द्र साह, चुनुदेवी साह, रम्भा साह, बासुदेव साह, रञ्जन साह, दीपेन्द्र साह, विराटनगर १७ का विपिन बैठा र कमल साहलगायत छन् । विराटनगरको १८ नम्बर वडामा स्थानीय ७३ जनाले रक्सी भट्टीहरु बन्द गर्न माग गर्दै वडा कार्यालयमा निवेदन दिएका छन् । तर, निवेदनमाथि सुनुवाई नभएको साहको गुनासो छ ।
वडाध्यक्ष जितेन साहको नातेदारहरु नै रक्सीभट्टी सञ्चालक रहेकोले निवेदनमाथि छलफल नभएको स्थानीयको गुनासो छ । विराटनर १७ का सत्यनारायण साह, १८ वडाका दागराटोल बस्ने मो.नजिम मिया, शङ्कर पासवान, जगनारायण साहसहितले दिएको निवेदनमा विगत केही दिनदेखि मादक पदार्थ उत्पादनकर्ताको आपसरी झैझगडाका कारण समाज नै प्रभावित बन्न लागेको उल्लेख छ ।
वडाध्यक्ष साहले गाउँमा रक्सी उत्पादन भइरहेको कुरा स्वीकार गर्दै वडामा मात्रै नभएर देशैभरी लोकल रक्सी उत्पादन हुने उल्लेख गरे । ‘यहाँ मात्रै होइन धेरै ठाउँ लोकल रक्सी उत्पादन हुन्छ । उनीहरुको रोजीरोटीको सवाल पनि छ,’ उनले भने, ‘अहिले नै सबै बन्द गर्न पनि सकिँदैन ।’ उनले सिमा क्षेत्रमा बस्ने सर्वसाधरण तथा स्कूले बालबालिकाहरु पनि जिविकोपार्जनका लागि भारतको जोगवनी जाने गरेकोले नयाँ कुरा नभएको प्रतिक्रिया दिए ।
घरेलु मदिराको विक्री, वितरणमा सरकारले रोक लगाएको छ । यद्यपी त्यसको प्रयोग र कारोबार रोकिएको छैन । वडाध्यक्ष साहले खुलेआम आफ्नो वडामा घरेलु मदिराको उत्पादन र विक्री भइरहेको बताए ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले आफूले त्यस क्षेत्रमा निगरानी गराएर कारबाही अगाडि बढाउने बताएका छन् । ‘अवैध मदिरा विक्री वितरण गर्न पाइँदैन,’ उनले भने, ‘हामी यो विषयमा आवश्यक कारबाही गर्छौं ।’