दश प्रकारका धानको बीउ मौज्दात

दमक । झापाको मेची कृषक बहुमुखी सहकारीले रु ४ करोड ५० लाख मूल्य बराबरको दश प्रकारको ४५० मेट्रिक टन धानको बीउ मौज्दात रहेको जनाउँदै किसानलाई बेच्न शुरु गरेको छ । तराईमा धानखेतीका लागि ब्याड राख्ने बेला हुन लागेको हुँदा किसानहरुको सुविधाका लागि बीउको खुद्रा तथा थोक बिक्री शुरु गरिएको सो सहकारीका व्यवस्थापक दीपक काफ्लेले जानकारी दिनुभयो ।

मेचीनगर–७ इँटाभट्टामा रहेको सहकारीले पोस्ट हार्वेस्ट सेवा केन्द्रमार्फत आफँैले उत्पादन गरेको राधा–१२, रञ्जित, मन्सुली, सुख्खा–३, हर्दिनाथ–१, साम्बा, शर्णा सबवान, नुनिया, रातो बासमती र राम धानको बीउ झापा, मोरङ र सुनसरीका किसानलाई बेच्दै आएको छ ।

नेपाल सरकारको राष्ट्रिय बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय काठमाडौँले ती धानका बीउहरु तराइका लागि सिफारिस गरेको काफ्लेले बताउनुभयो । उहाँले बन्दाबन्दी भएता पनि धानको बीउ ओसारपसारमा कहीँकतैबाट अवरोध उत्पन्न नगराउन अपिल गर्नुभएको छ ।

किसानहरुले हार्वेस्ट सेवा केन्द्रमा आफैँ आएर खुद्रा मूल्यमा धानको बीउ खरिद गर्न सक्ने व्यवस्था मिलाइएकोे छ । झापाका स्थानीय सहकारी संस्था र एग्रोभेट पसलहरुले थोक मूल्यमा बीउ किनेर किसानलाई खुद्रामा उपलब्ध गराउँदै आएका छन् ।

– रासस

शुक्रबार, १९ बैशाख, २०७७, बिहानको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर