जलन अस्पताल बनाउन प्रदेश सरकारले डेढ करोड दिने

विराटनगर । कोशी प्रदेशमा जलन अस्पताल निर्माणको लागि प्रदेश सरकारले जनस्वास्थ्य सरोकार ट्रष्टलाई १ करोड ५० लाख रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा बुधबार स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा.गौरी प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ट्रष्टले इटहरी ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ विघा १० कठ्ठा जग्गामा ५० शय्याको जलन र ५० शय्याको सामान्य गरी १०० शय्याको अस्पताल निर्माण गर्न लागेको जनाएको छ । बजेटमार्फत प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा जलन अस्पताल बनाउने घोषणा गरेको थियो । त्यसअनुसार ट्रष्टलाई रकम दिने सम्झौता भएको हो ।

प्रदेश सरकारसँग भएको सम्झौता अनुसार तीन मिहनाभित्र अस्पताल निर्माण सुरू गर्न १ करोड ५० लाख रुपैयाँ प्रदान गरिनेछ । ४० करोड लागतमा निर्माण हुने भनिएको अस्पतालका लागि आवश्यक थप बजेट पनि उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् ।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताएका हुन् । प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरेबापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ । अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

ट्रष्टले किर्तिपुर नगरपालिकासँगको सहकार्यमा किर्तिपुर अस्पताल र काठमाडौं मोडेल अस्पताल सञ्चालन गरेको जनाएको छ । काठमाडौं बाहिर जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिमलगायतको सेवा प्रवाह गर्दै आएको पनि जनाएको छ ।

मुख्यमन्त्री कार्कीले कोशी र मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया सुरू गरेको बताएका छन् । प्रदेशमा जलन अस्पताल नहुँदा आगलागीका घाइतेले समयमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेकोले अस्पताल निर्माण सुरु गर्न लागेको उनको भनाइँ छ । कार्की मुख्यमन्त्री भएपछि नै मोरङको उर्लाबारीका ८ र विराटनगरका ३ जनाले आगलागीमा ज्यान गुमाएका थिए ।

मुख्यमन्त्री कार्कीले जलन अस्पताल कुनै कारणले नरोकिने र बजेट अपुग भएको अवस्थामा प्रदेश सरकारले थप बजेट प्रदान गर्ने जनाएका छन् । नाफारहित जनस्वास्थ्य ट्रष्टले नै नेपालमा जलन उपचार सेवा प्रदान गरिरहेकाले कोशीमा अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेको उनको भनाइ छ ।

बुधबार, २५ पुष, २०८०, साँझको ०५:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर