माधव काफ्ले
केही दिनअगाडि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती, ‘सुशील’ को पहलमा पर्यटनसम्बद्ध व्यक्तिहरूको बैठक बस्यो । जसमा अधिकांशको एउटै स्वर थियो, ‘हेलाहोचो र बाधा–अड्चनका कारण भारतीय पर्यटकको संख्या ओरालो लाग्न थाल्यो !’
पर्यटन व्यावसायी, होटल व्यावसायीहरूले मुख्यमन्त्री, मन्त्री र सुरक्षा निकायका प्रतिनिधिसमक्ष भारतीय पर्यटकले सीमानाकादेखि स्वदेश फर्किन्जेलसम्म अनेकन् सास्ती–झन्झट बेहोर्ने गरेको गुनासो गरे । छिमेकी मुलुक भारतका पर्यटक कोशी प्रदेशका पर्यटककीय क्षेत्र आउनेक्रम क्रमशः घट्न थालेपछि आफूहरू पलायन हुने अवस्थामा पुगेको पर्यटन व्यावसायीहरूको दुखेसो पोखे ।
कोशी प्रदेशको पर्यटन क्षेत्र भारतीय पर्यटकले धानेको छ भन्दा फरक नपर्ला । अरू प्रदेशतिर अन्य देशका पर्यटकहरू आएपनि यस प्रदेशमा भारतबाट आउने पर्यटकको उपस्थिति उत्साहजनक छ । मुलुकभरको तथ्यांक हेर्दा पनि पछिल्लो एक वर्षमा १० लाख पर्यटक नेपाल आउँदा त्यसमध्ये ३ लाख भारतीय छन् । तर, पर्यटकीय गन्तव्यहरूको विकास, विविधीकरण र बजारीकरण भइरहँदा पनि कोशी प्रदेशको पर्यटन खस्कँदो देखिएको छ । यसको प्रमुख कारण भनेको भारतीय पर्यटकलाई गरिने हेँला–होचो, बाधा–अड्चन र उनीहरूले पाउने सास्ती ।
भारतसँग हाम्रो धार्मिक र सांस्कृतिक सम्बन्ध छ । उनीहरूको र हाम्रो रहनसहन मिल्छ । यस प्रदेशले भित्र्याउन सक्ने पर्यटक मुख्यगरी भारतीय नै हुन् । भारतीय पर्यटक नै यस प्रदेशको समृद्धिको आधार हुन् । तर, हाम्रा हरेक व्यवहारले भारतीय पर्यटकलाई असहज बनाइरहेकाले कोशी प्रदेशको पर्यटन विकास हुन सकेको छैन । सीमामा सुरक्षा निकायले दिने सास्ती, यातायात अनुमतिको झन्झट, भारतीय नोट प्रतिबन्ध र भारू २५ हजारभन्दा बढी रकम बोक्न नपाउने नियमले भारतीय पर्यटकहरू घट्दै गएका छन् ।
पहिलो त नेपालका पर्यटकीय गन्तव्यहरूका बारेमा भारतीय पर्यटकहरूले यथोचित जानकारी पाउन सकेका छैनन् । पर्यटन प्रवद्र्धनका लागि हामीले नेपाली सञ्चारमाध्यममा मात्र बजेट खन्याएका छौं । भारतीय पर्यटकलाई नेपाली पर्यटकीय गन्तव्यहरू बुझाउनेगरी भारतकै मिडियामा केही बजेट खर्चंदा पनि पर्यटन प्रवद्र्धन प्रभावकारी हुनसक्छ ।
अनि, भारतीय पर्यटक नाकाबाट नेपाल भित्रनासाथ गरिने व्यवहार नै उनीहरूलाई आकर्षित गर्ने खालको छैन । सीमा नाकाबाट गाडी पास हुन नै भन्सारमा घण्टौं कुर्नुपर्छ । कठिनसँग भन्सारबाट नेपाल छिरेपछि उनीहरूलाई सरकारी निकायबाट हतोत्साही बनाउने काम हुन्छ । सुरक्षाकर्मीले जाँचका नाममा पर्यटकलाई अचाक्ली सास्ती दिन्छन् । सीमा नाकामा यातायात कार्यालय छैनन् । जसकारण, रुट–परमिट, सवारी अनुमतिलगायतको समस्या छ । फेरि, स्थानीय तहपिच्छेका पटके सवारी करले समेत भारतीय पर्यटक हैरान छन् ।
राष्ट्रियताले ओतप्रोत भई भारतको एकोहोरो विरोध गर्ने हाम्रो प्रवृत्ति भारतीय पर्यटकमाथि पनि लागू हुन्छ । भारतीय नागरिक भन्ने थाहा पाउनासाथ हेप्ने, हेँला गर्ने, गाली गर्ने बानीले पनि उनीहरू नेपाल आउन मान्दैनन् । यातायातदेखि होटल–रेस्टुरेन्टसम्म पनि भारतीय पर्यटकमाथि हुने व्यवहारप्रति पनि उनीहरूको चित्तदुखाइ छ । कतिपयले भारतीय पर्यटकमाथि आरोप पनि लगाउँछन्, ‘फोहोर गर्ने, होहल्ला गर्ने र अनुशासित हुँदैनन् ।’ पाहुना हुन्, यस्ता विषयमा सम्झाउनुपर्छ । हेला–होचो गर्ने होइन ।
हामीले रेस्टुरेन्ट, यातायात, ट्राभल क्षेत्रमा काम गर्नेहरूलाई भारतीय पर्यटकलाई अरू देशका ‘टुरिस्ट’ लाई जस्तै आतिथ्यता प्रदान गर्नुपर्छ भनेर ज्ञान र सिप सिकाउन सकेका छैनौं । भारतीय पर्यटकलाई राम्रो व्यवहार गरिदिए उनीहरू नेपालमा धेरै समय बस्थे । अरू पैसा खर्चिन्थे । यसले हामीलाई फाइदा नै हुने थियो । अनि, स्वदेश फर्किएर अरूलाई पनि नेपाल घुम्न जान प्रोत्साहन गर्ने थिए ।
भारतबाट आउने पर्यटकले नेपालमा खर्च गर्ने गरेका छैनन् । नेपालको धार्मिक पर्यटनमा लोभिएका उनीहरू मन्दिर दर्शन गर्न आउँछन् । अपेक्षानुरूपको आतिथ्यता नपाएपछि भारत फर्किहाल्छन् । छोटो समयका लागि आउने र फर्किहाल्ने पर्यटकले त के खर्च गर्छ र हामीले त्यसबाट फाइदा लिनु ? भारतीयको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सरकारले हवाई मार्गलाई मात्र नभएर स्थलमार्ग (बोर्डर) हुँदै आउने पर्यटकको सुविधालाई समेत ध्यानमा राख्नुपर्छ । हामीले प्रदेशमा भारतीय पर्यटकलाई यहीँ राख्नेगरी नयाँ खालको पर्यटनसम्बन्धी गन्तव्य बनाउनुपर्छ ।
अर्कोतिर नेपाल राष्ट्र बैंकले भारत हुँदै नेपाल आउने पर्यटकलाई अधिकतम् २५ हजार भारुमात्र बोकेर आउने सीमा तोकिदिएको छ । अर्थात् नेपाल प्रवेश गर्ने एक भारतीय नागरिकले एक पटकमा २५ हजार भारुभन्दा बढी बोकेमा त्यस्तो पैसालाई अवैध मानिन्छ र उसलाई कारबाही गरिन्छ । यसले पनि खर्च गर्न चाहने पर्यटकलाई निरुत्साहित गरिरहेको छ । त्यसबाहेक नेपाल–भारत क्रस–बोर्डर (अन्तर्राष्ट्रिय) डिजिटल कारोबार र भुक्तानीको सुविधासमेत हालसम्म सञ्चालनमा आउन सकेको छैन ।
एक त नगदको सीमा, अर्कोतर्फ डिजिटल पेमेन्टको सुविधा समेत नहुँदा नेपाल आउन चाहने ठुलो र गुणस्तरीय भारतीय पर्यटक रोकिन पुगेका छन् । अर्थतन्त्रको मुख्य आधार कृषि र पर्यटन भनेर नारा घन्काउने सरकारको ध्यान यी र यस्ता कुरामा पुग्न जरूरी देखिन्छ ।