संखुवासभा । संखुवासभाको मंगलादेवी माध्यमिक विद्यालय तीनपोखरीमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले खाँदबारी नगरपालिका–७ स्थित तीनपोखरीमा रहेको मंगलादेवी माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँमा अक्षय कोषको स्थापना भएको छ । समाजसेवी स्वर्गीय ल्याप्टेन चिमबहादुर राई र पत्नी जयमाया राईको स्मृतिमा नगद ५ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरिएको हो ।
चिमबहादुर र जयमाया दम्पतिका दुई छोराहरू अजितकुमार राई र दिपबहादुर राई गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले पाँच लाख रुपैयाँको कोष स्थापना गरेका हुन् । अक्षय कोषमा रहने उक्त रकम बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलाराम मगरलाई हस्तान्तरण गरिएको छ ।
रकम बुझ्दै समितिका अध्यक्ष मगरले गरिबी र विपन्नताका कारण बीचमै पढाई छाड्ने विद्यार्थीलाई प्रोत्साहन हुने बताए । अक्षयकोषको ब्याजबाट आउने रकमले विद्यालयले मनाउने हरेक वर्षको वार्षिकोत्सवमा गरिब तथा जेहेन्दार जनजाति तथा दलित तीन जना छात्रा र तीन जना छात्रलाई सहयोग गर्ने व्यवस्था गरिएको कोषका संरक्षक अजितकुमार राईले बताए । गरिबी र विपन्नताका कारण बीचमै पढाइ छाड्ने प्रवृत्ति बढेको बताउँदै उनले कोषले त्यस्ता विद्यार्थीहरुलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।
विद्यालयमा स्थापना भएको अक्षय कोषले शैक्षिक विकासमा सहयोग पुग्ने प्रधानाध्यापक योगेन्द्र श्रेष्ठले बताए । शैक्षिक क्षेत्र सुधारमा ध्यान नदिने हो भने भविष्यमा हाम्रा विश्व विद्यालयहरु रित्तिने अवस्था हुनसक्छ, त्यसैले शैक्षिक सुधारमा सरोकारवालाहरु सबैले ध्यान दिन आवश्यक भएको श्रेष्ठ बताए ।