विराटनगर । मोरङको कटहरी गाउँपालिकाले तुलसी खेती प्रबद्र्धन गर्ने भएको छ । तुलसी खेती प्रबद्र्धन गर्न कटहरीले किसानहरुलाई आकर्षक अनुदान घोषणा गरी किसानहरुलाई तालिम दिन थालेको छ ।
स्थानीय किसानले उत्पादन गरेको तुलसी बिक्री गर्ने सुनिश्चिततासहित गाउँपालिकाले किसानलाई अनुदान दिने घोषणा गरी खेती प्रबद्र्धनमा लागेको हो । बजार सुनिश्चिततासँगै गाउँपालिकाले अनुदानसमेत दिने भएपछि किसानहरु तुलसी खेती गर्ने तर्फ आकर्षित बनेका छन् ।गाउँपालिकाले आफ्नो पालिकाभित्र तुलसी खेती गर्ने किसानलाई प्रतिकट्ठा ३ हजार अनुदान दिने योजना चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको छ । पालिकाले बजेट सुनिश्चिता गरेपछि कृषकले उत्पादन गरेको तुलसी खेती प्रतिकेजी ११० रुपैयाँ केजीका दरले कटहरी ५ मा खुलेको श्री गुराँस हर्वास्यूटिकल्स प्रालिले खरिद गर्नेछ । यहाँका कृषकले उत्पादन गरेको तुलसीको सम्पूर्ण भाग (सुकेको पात, डाँठ र जरासमेत) उद्योगले खरिद गर्ने गरि गाउँपालिकाले पुस १३ गते सम्झौता गरेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए ।
कृषकले उत्पादन गरेको तुलसी बिक्रीमा कुनै समस्या नहुनेभएपछि तुलसी खेतीतर्फ कृषकको आकर्षण बढने देखिएको छ ।
व्यवसायिक रुपमा तुलसी खेती कसरी गर्ने र यसबाट आत्मनिर्भर कसरी बन्ने भन्ने विषयमा पालिकाले यहाँका कृषकहरुलाई तालिम दिन सुरू गरेको गाउँपालिका अध्यक्ष चौधरीले बताए । ‘कृषीको विज्ञहरू ल्याएर कटहरीका कृषकहरुलाई तुलसी खेतीतर्फ आकर्षिक गराउन हामी लागि परेका छौं । बजारको कुनै पनि समस्या छैन । जति उत्पादन गरेपनि यहाँको उद्योगले खरिद गरिदिन्छ । हामीले व्यसायिक तुलसी खेती गरेर यहाँको कृषक आय आर्जन बढाउन लागि परेका छौं,’ उनले भने, ‘त्यसैले अहिले कटहरी भित्रका कृषकहरुको लागि तुलसी खेती सम्बन्धी तालिम पनि दिन थालिएको छ ।’ तालिममा सिकेको ज्ञान व्यवसायीक खेतीमार्फत कृषकहरुले देखाउने अपेक्षा गरिएको उनले सुनाए । पहिलो चरणमा कटहरीका ४० जना कृषकहरुलाई तुलसी खेती सम्बन्धी तालिम बिहीबारबाट सुरू भएको छ । तालिम लिएपछि कृषकहरु
तुलसीखेतीतर्फ लाग्ने भएका छन् । कटहरी गाउँपालिका – ५ का दिपेन सरदारले उत्पादन गरेको तुलसीको बजार सुनिश्चिता भएपछि खेतीखेती सुरू गर्ने तयारी गरिएको बताए । उनले दुई बिघा जमिनमा तुलसी खेती सुरू गर्ने तयारी थालिएको बताए । ‘उत्पादन गरेको तुलसी बिक्री नहुने भन्ने चिन्ता पनि छैन । स्थानीय पालिकाले अनुदान दिएर यस खेतीतर्फ लाग्न हौसला मिलेको छ । जति उत्पादन गरेपनि घर नजिकको उद्योगले खरिद गरिदिने भएपछि हामी अब कसरी तुलसी बढी उत्पादन गर्ने भन्नेमा लागि परेका छौं । त्यसतर्फ प्राविधिक ज्ञान हासिल गर्नको लागि तालिम लिन आएका छौं,’ उनले भने, ‘तालिम लिन सुरू गरेसँगै दुई बिघामा खेती पनि सुरू गरिहाल्ने छु ।’ तालिममा व्यवसायिक रुपमा खेती गर्नको लागि कृषी ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले सहजीकरण गरेका छन् । तुलसी खेतीबाट राम्रो आम्दानी हुने उनले सुनाए । ‘तुलसी खेती १२ महिना लगाउन सकिन्छ । यो खेती गर्दा कृषकहरुले मनग्गे आम्दानी पनि लिन सक्छिन्,’ उनले भने ।
कृषकको आम्दानी बढाउने र तुलसी खेती प्रबद्र्धधन गर्ने नीति गाउँपािलको लिएको अध्यक्ष चौधरीले बताए । पालिकाले त्यसको लागि चालु आर्थिक वर्षमा २ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । ‘तुलसी खेती १२ महिना लगाउन सकिन्छ । यस खेती गर्दा आम्दानी पनि राम्रो हुने देखिएपछि हामीले नीति तथा कार्यक्रममा समावेश गरेर कृषकहरुलाई अनुदान दिन बजेट पनि बिनायोजन गरिएको हो,’ उनले भने, ‘चालु आर्थिक वर्षदेखि लागू गरिएको छ ।’ यस खेतीबाट कृषकहरुले मनग्गे आम्दानी लिन सक्ने उनले बताए ।श्री गुरास हर्वास्युटिकल्स आयुर्वेदिक उद्योग दुई वर्ष अगाडि कटहरीमा स्थापना भएको थियो । सो उद्योगले बर्सेनी करोडौं मूल्यको तुलसी भारतबाट आयात गर्ने गरेको छ