चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण सम्पन्न

इलाम । इलामको कन्याममा नेपाली चियाका लागि चिया परीक्षण तथा प्रवर्द्धन केन्द्रको निर्माण सम्पन्न भएको छ ।

कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा कन्याममा केन्द्रको निर्माण गरिएको हो । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण गरिएको केन्द्र १५ करोड २३ लाख रुपैयाँको लगानीमा निर्माण भएको हो ।

केन्द्रको पाँच वटा ‘ब्लक’मा म्युजियम, क्यान्टिन, कप टेस्टिङ, सेमिनार हल र प्रयोगशालाको निर्माण गरिएको छ । भवन निर्माणपछि प्रयोगशालाका सामग्री, मेशिनहरू र अन्य आवश्यकीय व्यवस्थापनको काम अगाडि बढेको सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राईले जानकारी दिए ।

‘सबै मेशिन तथा सामग्रीहरू जडान भएर केन्द्र पूर्णरुपमा सञ्चालन हुँदा २३ करोड लगानी हुने अनुमान छ । इलाममा निर्माण भएको चिया प्रबद्र्धन केन्द्र नेपालकै पहिलो हो । योजना प्रदेशको गौरवको योजना हो ।

केन्द्र सञ्चालनमा आएपछि नेपाली चियाको गुणस्तर मापन, परीक्षण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली अर्थोडक्स चियाका सबै उत्पादनको परीक्षण केन्द्रमा हुनेछ भने अर्थोडक्स चियाको टेस्टिङका लागि कुनै मेला कुर्न नपर्ने मेयर राईले बताए । विदेशी खरिदकर्ताहरू चियाको गुणस्तर हेर्न र बुझ्न केन्द्रमा आउने उनको भनाइ छ ।

धेरै उद्योगहरूले उत्पादन गरेको तयारी चियाको स्टल केन्द्रमा राखिनेछ । त्यसले चियाको प्रचार–प्रसार तथा बजारीकरणमा थप सहयोग पुग्ने बताइएको छ । नेपालमा उत्पादित चियालाई स्वदेशमै विषादी तथा गुणस्तर परीक्षण गर्न नसक्दा लाखौँ रुपैयाँ खर्च गरेर भारतमा परीक्षणका लागि पठाउनु पर्ने बाध्यता केन्द्र सञ्चालनमा आएपछि हट्नेछ ।

अहिले चिया परीक्षणको परीक्षणको नतिजा समयमा नआउँदा चिया बोकेका कन्टेनरहरू काँकडभिट्टा नाकामा हप्तौँ दिनसम्म थन्किने गरेका छन् ।

कोशी प्रदेशमा नेपालको ९९ प्रतिशत चिया उत्पादन हुन्छ । त्यसमा पनि इलाम चियाको लागि प्रख्यात छ । चियाको राजधानी मानिएको सूर्योदय नगरपालिका ७, कन्याममा केन्द्र निर्माण भएको हो ।

करिब ८ हजारभन्दा बढी किसान चियामै आबद्ध रहेको सूर्योदय नगरपालिकामा ५ दर्जनभन्दा बढी चिया प्रशोधन उद्योग छन् । पालिकाकामा उत्पादित चियालाई विश्वकै उच्च गुणस्तरको अर्गानिक बनाउन नगरपालिकाले काम गरिरहेको छ । नेपालमा चिया रोपण सुरु भएको १६० वर्षपछि चिया परीक्षण र प्रवद्र्धन केन्द्र स्थापना भएको हो ।

नेपालमा अर्थोडक्स, अर्गानिक अर्थोडक्स र क्रस टियर कर्ल (सिटिसी) चिया उत्पादन हुन्छ । इलाममा ह्वाइट, ग्रिन, इमरल, स्पेसियालिटी, ब्ल्याक र ओलङ गरी ६ प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुन्छन् । प्राविधिकका अनुसार अर्थोडक्स चिया पनि २८ प्रकारका उत्पादन छन् ।

नेपालमा उत्पादित तयारी चिया भारत, जर्मनी, अमेरिका, चीन, अस्ट्रेलिया, बेलायत, जापान, चेक गणतन्त्र, स्लोभाकिया, फ्रान्सलगायत देशमा समेत निर्यात भइरहेको छ ।

बुधबार, १८ पुष, २०८०, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर